PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित



पहिलोपोस्ट

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित
फाइल फोटो

दुनै : एक सातादेखि नेपालगञ्जमा बाक्लो हुस्सु लाग्न थालेपछि डोल्पालगायतका पश्चिम क्षेत्रका हवाई उडान प्रभावित भएका छन्। 

नेपालगञ्ज विमानस्थलमा बाग्लो हुस्सुका कारण अँध्यारो हुने भएकाले नेपालगञ्जबाट उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा पहिलेको तुलनामा नियमित उडान घटेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । 

एकसाताअघिसम्म तारा, सम्मिट, मकालुलगायतका सबै एयरलाइन्सले नियमित उडान गर्दै आएकामा आजभोलि एयरलाइन्सहरुले उडान घटाए नागरिक उड्डयन प्राधिकरण जुफाल विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालले जानकारी दिए। 

नेपालगञ्जको मौसममा सुधार भएपछि मात्र दिनमा एकदेखि दुईवटा मात्र उडान हुने र कहिलेकाहीँ एउटा पनि उडान नहुने उनले जानकारी दिए। 

हिउँदे मौसम सुरु भएदेखि अन्त्य नहुन्जेलसम्म पश्चिमका उडान अनियमित भइरहने भएकाले पुसदेखि फागुन महिनासम्मको तीन महिनाको अवधिमा गन्तव्यमा पुग्न हवाई यात्रा गर्नुपर्ने यात्रुलाई सास्ती हुने गरेको छ। 

आजभोलि कहिलेकाहीँ मात्र उडान हुने भएकाले जुफाल विमानस्थलमा दिन प्रतिदिन यात्रुको चाप बढ्दै गएको छ। 

डोल्पा, जुम्ला, हुम्लालगायतका जिल्लामा हिमपातसँगै चिसो बढ्ने भएकाले यतिखेर कर्णालीका सबै विमानस्थलमा जाडो छल्न तराई झर्ने सर्वसाधारणको चाप बढ्ने गर्छ । 

उडान अनियमित भएपछि बिरामी, विद्यार्थी मर्कामा परेका छन् भने कतिपय सर्वसाधारण हप्तौं जहाज कुरेर पनि हवाई टिकट पाउने सम्भावना कम देखेपछि जोखिम मोल्दै पैदल यात्रा गरेर गन्तव्यसम्म पुग्न बाध्य भएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell