
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा गठन नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन्।
सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले यो चुनावी सरकारले भएकाले राष्ट्रियसभाको निर्वाचन नभएसम्म सरकारबाट नबाहिरिने बताए।
उनले भने,‘ हामी निर्वाचन सम्पन्न गरेरमात्रै सरकार छाड्छौं, केयर टेकर गभर्मेन्ट भन्नुहुन्छ भनेपनि हामी केयर गरिरहेका छौं, निर्वाचन आयोगले पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन।’
उनले प्रधानमन्त्री देउवाले चाहेर पनि अहिले सरकार छोड्न नपाउने जिकिर गरे। उनले भने,‘देउवाले मलाई धेरै दवाव आयो भनेर पद छोड्छु भन्नपाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन।’
थापाले ओली र प्रचण्डले अहिल्यै कुर्सी छोड भनेर देउवाको राजिनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यत्ति भएकोसमेत आरोप लगाए।
सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यायदेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको उनले बताए।
थापाले भने,‘म अहिले पनि ठण्डा भएर भन्छु राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्विकृत गर्नैपर्छ, सरकारसँग पनिअर्को विकल्प छैन।’