काठमाडौं: शनिबार बिहानै दुई युवा 'हस्याङफस्याङ' गर्दै महानगरीय प्रहरी वृत्त जनसेवामा पुगे। कता उजुरी दिने हो भन्दै उनीहरु कोठा खोज्न लागे। ड्युटीमा रहेका प्रहरीले उनीहरुलाई उजुरी शाखामा पुर्याए। उनीहरुले आफू लुटिएको भन्दै प्रहरीमा उजुरी दिए।
स्याङ्जा घर भएका २३ वर्षीय बसन्त भट्टराई र २१ वर्षीय कृष्ण काफ्ले प्रहरीकोमा उजुरी दिन पुगेका थिए। आफुहरुसँग भएको १४ लाख ५० हजार रुपैयाँ काठमाडौंको सुन्धाराबाट लुटिएको उनीहरुले उजुरीमा उल्लेख गरे। उजुरी अनुसार पैसा लुट्ने प्रहरी नै भएको दावी थियो।
'मंसिर २९ गते हामी पैसा जम्मा गर्न सुन्धारमा रहेको प्रभु बैंक जाँदै थियौं। एक्कासी सेतो रङको मोटरसाइकल हाम्रो नजिक आयो।' वसन्तले प्रहरीलाई सुनाउँदै गए 'मोटरसाइकलमा बस्नेले प्रहरीको सेट र पेस्तोल बोकेका थिए। उनीहरुले हामी प्रहरी हौं भन्दै मलाई च्याप्प समातेर लगे। पैसा म सँगै थियो।'
वसन्तले आफू लुटिएको घटनाक्रम सुनाइरहँदा प्रहरी अधिकारी चनाखो भएर बयान लेख्दै थिए। वसन्त थप्दै गए 'मलाई डल्लु पुर्याइयो। एउटा अँध्यारो कोठामा राखेर मेरो सबै पैसा लुटे। बेलुका साढे ७ बजेपछि छाडे। पछाडि फर्केर हेरे मार्ने धम्की दिए।'
वसन्तको कुरा सुनेपछि प्रहरीले उजुरी दर्ता गर्यो र अनुसन्धान सुरु गर्यो। वसन्त र उनका साथी कृष्णलाई लिएर प्रहरी डल्लु पुग्यो। डल्लुमा सबै स्थानमा प्रहरीले चेकजाँच गर्यो। दुई दिन बितिसक्दा पनि प्रहरीले अपहरणकारी पत्ता लगाउन सकेको थिएन।
वसन्तलाई लिएर गएको गल्ली, मूल सडक सबै स्थानमा प्रहरी पुग्यो। कुनै सुराक हात परेन। डल्लुको एक सडकमा सिसिक्यामेरा भेटियो। प्रहरीले २९ गते कैद भएका सबै दृश्य हेर्यो। तर, कैद भएका दृश्यमा वसन्त भएको देखिएन।
अपरहणमा परेका भनिएका वसन्तको कुरा नमिलेपछि प्रहरीले दुई जनामाथि नै शंका गरेर अनुसन्धान सुरु गर्यो। दुबैले बैंकमा जम्मा गर्ने रकमको स्रोत देखाउन नसकेपछि प्रहरीमा झनै शंका थपियो। अन्तत् दुबै जनाले अपहरणको नाटक गरेको खुल्न गयो। बृतका प्रमुख मोहन थापा भन्छन् 'उनीहरुले प्रहरीसँग अपहरणको मजाक गरेका रहेछन्।'
अहिले भट्टराई र काफ्ले प्रहरी हिरासतमा रात बिताइरहेका छन्। केही समयदेखि हुन्डी कारोबारमा लागेका दुबैले हुन्डीको रकम पचाउन यस्तो नाटक गरेको अनुसन्धानमा खुलेको डिएसपी थापाले बताए। 'दुबैबाट हुन्डीमार्फत आएको रकम पचाउन यस्तो गरेको देखियो।'
प्रहरीले उनीहरुको कोठा खानतलासी गर्दा हुन्डीमार्फतको थप ३० लाख रुपैयाँ समेत बरामद गरेको छ। दुवइमा रहेका गोपी भुसालमार्फत हुन्डी कारोबार भइरहेको अनुसन्धानबाट खुलेको छ।