पाल्पा : पाल्पामा निर्माण कार्य सुरु गरिएको १३ वर्षपछि रिङरोडसहितको सडक सञ्जाल गाउँमा जोडिएको छ।
रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत साविक गल्धाको बेलडाँडाबाट मित्याल, झिरुवास, सहलकोट हुँदै गाँडाकोट, भलायटार, गण्डकीढिक हुँदै रामपुरको बेझाँड बजारसँग जोड्ने रिङ्रोडको अवधारणासहित सुरुवात भएको सडकले अहिले गाउँ गाउँ जोडिएको हो।
तत्कालीन समयमा गाँडाकोटको भलायटार र गल्धाको बेलडाँडादेखि मित्याल रुक्से भञ्ज्याङसम्म जसोतसो सडक पुगे पनि अन्य स्थानमा सडक सञ्जाल जोडिन सकेको थिएन।
पूर्वी पाल्पाका साविक गाँडाकोट, सहलकोट, झिरुवास र मित्याल गाविस जोड्ने सडक रिङ्रोडसहित जोडिएपछि यस क्षेत्रका स्थानीवासीमा खुसियाली छाएको छ।
विसं २०६१ मा जिविस पाल्पा र हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीयवासीको जनश्रमदान र न्यून ज्यालामा मित्यालबाट झिरुवास–७ को धार्केसिंसम्मको नौ किलोमिटर सडक निर्माण, गाँडाकोटको भलायटारदेखि सहलकोटको आनन्दीसम्मको १३ किलोमिटर सडक र सहलकोटको आनन्दीदेखि हात्ती भञ्ज्याङसम्मको पाँच किलोमिटर सडक निर्माण कार्य सुरु भएको थियो।
विसं २०६३ मा निर्माण सम्पन्न गर्ने सहमति भएपनि तत्कालीन समयमा द्वन्द्व र आन्दोलनका कारण झिरुवासको धार्केसिंसम्म २०६४ मा र भलायटारदेखि सहलकोटको हात्ती भञ्ज्याङसम्म २०६५ मा सडक निर्माण सम्पन्न भएको थियो।
बाँकी सडकखण्डअन्तर्गत सहलकोटको लिन्दीदेखि झिरुवासको धार्केसिंसम्मको सडक रामपुर झ्यालबास सडकखण्ड निर्माणका क्रममा जोडिए पनि सहलकोटको हात्तीभञ्ज्याङदेखि लिन्दीसम्मको साढे दुई किलोमिटर सडक नजोडिँदा रिङ्रोडको मान्यता पाउन सकेको थिएन।
द्वन्द्वको समय भएकाले बीचमै सडक निर्माण कार्य अलपत्र परेको वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर वाकावलले बताए। उनले भने,‘काम नियमित गर्न पाएको भए पहिले नै सडक जोडिन्थ्यो, दाताले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए तर द्वन्द्वले नियमित काम गर्न नपाउँदा परियोजना फेजआउट भएर गयो।’
बाँकी साढे दुई किलोमिटर सडक निर्माण कार्य आर्थिक वर्ष २०७१÷७२ बाट सुरु भएको थियो। संसद् विकास कोष र जिविसको १५ लाख, २०७३÷७४ मा संसद् विकास कोषको १९ लाख र जिविस पाल्पाको पाँच लाख रुपैयाँबाट साढे एक किलोमिटरको मार्ग खोलिएको थियो।
बाँकी एक किलोमिटर मार्ग खोल्ने र आनन्दीदेखि लिन्दीसम्मको सडक स्तरोन्नति गर्ने काम चालू आर्थिक वर्षमा झण्डै ५० लाख रुपैयाँको लागतमा जोडिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर रानाले बताए।
सडक निर्माणका लागि गाउँपालिकाले ४२ लाख र वडाले तीन लाख रुपैयाँ विनियोजन गरेको थियो। अहिले निस्दी गाउँपालिकाको केन्द्रसँग नजोडिएको वडा नं १ पनि जोडिएको छ।
गाउँपालिकाको केन्द्र मित्याल पुग्नका लागि रामपुर हुँदै मित्याल जान बाध्य सहलकोटका र बाकामलाङ्का स्थानीयवासी सडक सञ्जाल जोडिएपछि छोटो दूरीमा यात्रा गर्न पाउने भएपछि उनीहरुलाई ठूलो राहत मिलेको वडा नं १ का वडाध्यक्ष पूर्णबहादुर खाँणको भनाइ छ।
गाउँपालिकाको केन्द्रदेखि सबै वडामा अहिले सडक सञ्जाल जोडिएपछि यहाँको आर्थिक, सामाजिक तथा पर्यटनको क्षेत्रमा समेत ठूलो टेवा पुग्ने भएको छ।रासस