
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणनाको परिणाम आएको एक साता बितिसक्यो। प्रदेश नम्बर २ मा मत परिणामसँगै विजयी उम्मेदवारले नाचगानसहित मतदातालाई धन्यवाद दिने कार्यक्रम सुरु गरेका थिए जुन हालसम्म पनि जारी छ।
मधेशका जिल्लाहरुमा घनाबस्ती र सुगम बाटो भएकाले मतदातालाई धन्यवाद दिन पहाड र हिमाली भेगमा भन्दा सजिलो छ। गाडीको लाम र साथमा लाउड स्पिकरमा हाइ भोलुम गीत।
अन्यत्र ‘डीजे’को अर्थ जे लागे पनि मधेशमा ठूला स्पीकर भएको साउण्ड सिस्टमलाई डीजे भन्ने चलन छ। चुनाव जितेका 'नेताजी'हरु अहिलेसम्म पनि डीजेको धुनमा नाच्दै धन्यवाद दिँदैछन्। उनीहरुको जितको जस्न सकिएको छैन।
यतिखेर अधिकांश नेता आफ्नो क्षेत्रको गाउँटोलमा गएर नाचगान गर्दै डीजेको मजा लिँदैछन्। त्यसैले प्रतिनिधि सभाको निर्वाचन जितेका नेतासमेत काठमाडौं आउन भ्याएका छैनन्। राजपा प्रवक्ता केशव झाले पार्टीका नेताहरु काठमाडौं फर्किनसकेकोले पार्टीको बैठक बस्न नसकेको जानकारी दिए।
प्रवक्ता झाले राजपाका सबै शीर्ष नेताले चुनाव जितेको धन्यवाद ज्ञापन कार्यक्रममा व्यस्त भएको बताए।
केही वर्षअघिसम्म चुनाव जित्ने नेताहरुले मधेशमा पेसेवर नर्तकीहरुलाई नचाउने गरेका थिए भने कतिपयले ‘लौण्डा नाच’ (केटाहरु केटी बनेर नाच्ने) नचाउने गरेका थिए।
पछिल्लो समय चुनाव प्रचारका लागि नेताहरुले आफ्नै गीत बनाउने प्रचलन बढेको छ भने चुनाव जिते पछि धन्यवादका लागि पनि आफ्नै गीत बनाएका छन् ।
रोचक के छ भने दुई नम्बर प्रदेशमा चुनाव जितेका राजपा र फोरम नेपालका कुनै विजयी उम्मेदवारहरु काठमाडौं फर्केका छैनन्। सबै विजयी नेताहरु धन्यवाद ज्ञापनमा लागेका छन् 'विथ डीजे'।