
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन्। उनले राष्ट्रपति भएपछि पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेका हुन्।
उनले यसअघि भन्दै आएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फस्ट (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई रणनीतिमा पनि प्राथमिकतामा राखेका छन्।
राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब एक वर्षपछि राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका हुन्। यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ।
साथै सीमा नियन्त्रणमा पनि यसले कडाई गरेको छ। सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ।
आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ। आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्को विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ।
उनले अरु विश्वलाई सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिएका छन्। साथै रणनीतिमार्फत उनले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी भएको बताएका छन्।
रणनीति सार्वजनिक गर्ने क्रममा गरेको सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रुपमा चीन र रुसले चुनौती दिइरहेको उल्लेख गरेका छन्।
कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसिमको चुनौती नै रहेको बताएका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिस्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गरे।
उनले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी प्रभाव र मान्यताहरुको हितका साथै अमेरिका पहिला भन्ने आफ्नो मान्यतालाई सुरक्षा रणानीतिले सघाउ पुग्नेसमेत बताएका छन्। रासस/एएफपी