PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जाडोसँगै विजुलीको ‘सुख्खा’ याम सुरु, पुस महिना लाग्दै विद्युत उत्पादन आधाले घट्यो



अमर बडुवाल

जाडोसँगै विजुलीको ‘सुख्खा’ याम सुरु, पुस महिना लाग्दै विद्युत उत्पादन आधाले घट्यो

काठमाडौं :  पुस लागेसँगै नेपालका जलविद्युत आयोजनाबाट हुने विद्युत उत्पादन ४५ प्रतिशतले घटिसकेको छ। सुख्खा मौसममा नेपाली आयोजनाको विद्युत उत्पादन ६० प्रतिशतसम्म घट्ने गरेको विद्युत प्राधिकरणको तथ्याङ्क छ।

यो हप्ता सबैभन्दा बढी विद्युत उत्पादन हुने कालिगण्डकी जलविद्युत आयोजना बाट ८० मेगावाट हाराहारीमात्र विद्युत उत्पादन भइरहेको छ।

कालिगण्डकी १४४ मेगावाटको आयोजना हो। यसबाट क्षमताको ५५ प्रतिशत मात्र विद्युत उत्पादन भइरहेको छ।

त्यसैगरी ७० मेगावाटको मर्स्याङ्दी जलविद्युत आयोजनाबाट पनि ४० देखि ४५ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको नेपाल विद्युत प्राधिकरण केन्द्रीय भार प्रेषण केन्द्रका प्रमुख विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए।

सुख्खायाम सुरु भएसँगै अन्य जलविद्युत आयोजनाको उत्पादनमा पनि ४० देखि ५० प्रतिशतसम्म घटिसकेको भार प्रेषण केन्द्रको तथ्याङ्क छ।
सुख्खा मौसममा विद्यतुको माग बढ्ने र खोलानालाको पानी सुकेर उत्पादन धेरै घट्ने हुन्छ। पिक समयमा माग व्यवस्थापन गर्न ४५ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना दुई घण्टासम्म चलाउने गरेको श्रेष्ठले बताए।

गत महिनासम्म कुलेखानी ३० देखि ४५ मिनेट मात्रै चलाउने गरिएको थियो। नेपालमा विद्युत उत्पादन हुने प्रायः सबै आयोजना रन अफ दि रिभर आयोजना हुन्।

जसले खोलामा पानी बगे अनुसार मात्रै विद्युत उत्पादन गर्छन्। कुलेखानी १ र २ बाहेक प्राधिकरण र निजी क्षेत्रले बनाएका अन्य सबै आयोजना पानीको बहाव अनुसार मात्र विद्युत उत्पादन गर्छन्।

माग व्यवस्थापन गर्न अहिले भारतबाट आउने विजुलीको हिस्सा बढाईएको छ। गत महिनासम्म ३४० देखि ३५० मेगावाटसम्म आयात गरिएको भारतीय बिजुली अहिले ३७० मेगावाट भन्दा बढी आयात भैरहेको श्रेष्ठले बताए।

तत्काल नयाँ आयोजनाको विद्युत प्रसारण लाईनमा जोडिने सम्भावना छैन। ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको परीक्षण गर्न पनि अङ्ग्रेजी नयाँ वर्षनै कुर्नु पर्ने भएको छ।

नेपाली आयोजनाबाट विद्युत उत्पादन कम हुँदै गएपछि भारतीय विजुलीको आयात बढाउने प्राधिकरणको तयारी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell