काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवासंघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक वर्ष पूरा भएको छ। गत पुस ४ गते रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा उनीमाथि गोली प्रहार भएको थियो। देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।
गत वर्षको हाइ-प्रोफाइलको हत्या मध्ये एक हो अध्यक्ष तिवारीको हत्या। तिवारीको हत्या भएको केही घन्टामा नै रुपन्देहीका मनोज पुनले सञ्चार माध्यममा फोन गरेर हत्याको जिम्मेवारी लिएका थिए। प्रहरीले करिब दुई महिनापछि तिवारीको हत्यामा जोडिएका १२ जनालाई पक्राउ गरी सार्वजनिक समेत गर्योी। तर, घटनाका मुख्य योजनाकार मनोज पुन भने अझै फरार छन्। प्रहरीको दावी अनुसार पुनको योजनामा विकास भनिने सोमबहादुर आले र श्याम गुरुङले नेपालमा बसेर तिवारी हत्याको योजना बनाएको दावी छ।
प्रहरीको फरार सूचीमा रहेका पुनले तिवारीपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या र गुन्डा नाइके दावा लामा माथि पनि गोली प्रहार गरेको जिम्मा लिए। गोली प्रहारका श्रृंखला जारी रहँदा पनि योजनाकार भने प्रहरीको पहुँच बाहिरै छन्।
तिवारी र गौचनको हत्यामा संलग्न देखिएका पुनलाई प्रहरीले खोजिरहेकै एक वर्षभन्दा बढी भइसकेको छ। तिवारीको हत्या अनुसन्धानको फाइल बन्द भइसकेको छ। पुनका सहयोगी गुन्डा नाइके समिरमान बस्नेतलाई भने केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गत मंसिर १७ गते पक्राउपछि सार्वजनिक गरेको थियो। दुवैको घटनामा पुनको पनि संलग्नता देखिएकाले खोजी कार्य भइरहेको व्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।
प्रहरीले पाएको जानकारी अनुसार पुनले भारतमा बसेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएका छन्। २९ वर्षीय पुनले रुपन्देहीमा भने त्यसपछि कुनै किसिमको अपराधिक गतिविधि नगरेको रुपन्देही जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी श्याम ज्ञवालीले बताए। उनले भने, 'पुनका केही मान्छे पक्राउ भइसकेका छन्। पुनलाई खोजी गरिरहेका छौं।'