काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)मा मंगलबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्सलाई ६ रनले पराजित गरेको छ।
१५१ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरै २० ओभर खेलेर ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सफल भएपछि प्रतियोगितामा पहिलो हार बेहोरेको हो। सोमबार भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गरेको थियो।
यता विराटनगरले पहिलो खेलमै जित हात पार्दै शानदार सुरुवात गरेको छ।
कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो।
विराटनगरका लागि अनिल कुमार शाहले सर्वाधिक ४७ तथा कप्तान पारस खड्काले ३८ रन बनाए। कप्तान पारस र अनिलले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै विराटनगरलाई सम्मानजनक स्कोर बनाउन मद्दत गरेका थिए। ३५ बल खेलेका अनिलले २ चौका र ३ छक्का प्रहार गरे।
यस्तै हङकङका बाबर हायतले ३४ तथा अंशुमन रथले १४ रन जोडे। दोस्रो ओभरमै ओपनर बसिफ शेख आउट भएपछि हङकङकै दुई खेलाडीले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।
बलिङमा ललितपुर प्याट्रओट्सका सन्दीप लामिछानेले २ तथा सुबोध भाटी र योगेश नागरले १-१ विकेट लिए।
१५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले १९ रन बनाउँदा २ विकेट गुमाएको थियो। ओपनर जयकिसन कोल्सावाला १२ रन बनाएर पहिलो विकेटका रुपमा आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल १ रनमै आउट भए। तर अर्का ओपनर पवन सराफ र योगेश नागरले तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गर्दै ललितपुरको आशा कायमै राखेका थिए।
२७ रन बनाएका भारतीय खेलाडि नागरलाई विराटनगरका कप्तान पारस खड्काले बोल्ड आउट गरे। त्यस लगत्तै ललितपुरका पवन सराफ ५१ रन बनाएर आउट भए। पवनले ४७ बल खेल्दै ६ चदका र १ छक्काको मद्दतमा ५१ रनको योगदान गरे। यस्तै कुशल भुर्तेल २० तथा मेहबुब आलम १३ रनमा नटआउट रहे।
बलिङमा विराटनगरका कप्तान पारस खड्का, बसन्त रेग्मी, करण केसी र अंशुमन रथले १-१ विकेट लिए।
प्रतियोगिताअन्तर्गत बुधबार विराटनगरले पहिलो खेलमा पोखरा राइनोजसँग खेल्नेछ। यस्तै भैरहवा ग्लाडिएटरले दोस्रो खेलमा काठमाडौँ किंग्स एलेभेनसँग प्रतिस्पर्धा गर्नेछ।
विराटनगरका कप्तान पारस खड्काले राम्रो स्कोर खडा गरेको र बलरहरुले पनि खेलको अन्त्यसम्म राम्रो प्रदर्शन गरेको जित हात पारेको बताए।
यता ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले बलिङ र ब्याटिङ डेथ ओभरमा चल्न नसक्दा पराजय बेहोरेको प्रतिक्रिया दिए।