PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

 निकुञ्जका जनावरलाई अवरोध नहुने गरी द्रुतमार्ग निर्माण गर्न सेनालाई सुझाव



पहिलोपोस्ट

 निकुञ्जका जनावरलाई अवरोध नहुने गरी द्रुतमार्ग निर्माण गर्न सेनालाई सुझाव

  • वीरेन्द्र कर्ण 
वीरगंज :  निकुञ्जभित्र रहेका जनावरलाई आवतजावत गर्ने मार्गलाई ध्यानमा राखी निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माण गर्न पर्सा राष्ट्रिय निकुञ्जले नेपाली सेनाको ध्यानाकर्षण गराएको छ। 

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने हात्ती, गैँडा, बाघलगायतका जनावर बकैया नागमणि सामुदायिक वन क्षेत्रको बाटो भएर आवतजावत गर्ने भएकाले द्रुतमार्ग निर्माण गर्दा करिब एक किलोमिटरसम्म हाइब्रिज वे बनाउनुपर्ने सुझाव दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले जानकारी दिए। 

निकुञ्जभित्र रहेका हात्ती, बाघ, गैँडालगायतका जनावरले वर्षौंदेखि प्रयोग गर्दै आएको मार्गमा द्रुतमार्ग बन्न लागेपछि निकुञ्जले चासो देखाएको हो।

निकुञ्जभित्र रहेका हात्तीलगायतका जंगली जनावर आधार क्षेत्रदेखि निजगढसम्मको जंगल क्षेत्रभित्र पुरानो बाटो प्रयोग गर्दै आएकाले ती जनावरलाई भविष्यमा आवतजावत गर्ने समस्या नहोस् भनेर हाइब्रिज वे बनाउन नेपाली सेनाका सहायक रथी भरतबहादुर खड्कालाई जानकारी गराइएको वार्डेन आचार्यले बताए। 

बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको निजगढ–काठमाडौँ द्रुतमार्गको काम आगाडि बढ्ने क्रममा नागमणि सामुदायिक वनका रुख निजगढमा काट्ने काम भइरहेकाले हाइब्रिज वे निर्माणपछि सडक मुनिबाट जनावरलाई आवतजावत गर्न सजिलो हुने समूहका अध्यक्ष रविराज दंगालले बताए। 

६ सय २७ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जबाट जनावर रौतहटको जंगलसम्म जाने गरेका र जनावर आवतजावत गर्दा सवारी साधनमा ठोक्किन सक्ने सम्भावनालाई दृष्टिगत गरी हात्ती, बाघ, गैँडालगायतका जनावरलाई आवतजावतमा सजिलो होस् भनेर हाइब्रिज वे बनाउनु पर्ने माग निकुञ्जले गरेको छ। 

जैविक विविधताले भरिएको निकुञ्जभित्र हात्ती, गैँडा, बाघ, मृग, बाह्रसिंगे, नीलगाई, भालु, विश्वबाटै लोप हुन लागेको काँडेभ्याकुर, सारस, अजिंगरजस्ता जनावर तथा पक्षी छन्। द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले त्यस क्षेत्रमा रुख कटानको काम अगाडि बढाएको छ। 

पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएका बारा जिल्लाको बकैयास्थित नागमणि वन समूहको वन क्षेत्रबाट रुख काट्ने काम हाल सुरु गरिएको छ। चारवर्षभित्र चार लेनको द्रुतमार्ग निर्माण गर्ने उद्देश्यले सुरु गरिएको हो। 

पथलैया-निजगढ सडकखण्डको लालगढी हुँदै भरतपुरी, धियालगढी, मकवानपुरको पञ्चकन्या, काठमाडौँको दक्षिणकाली हुँदै ललितपुरको खोकनासम्म सो मार्ग निर्माण हुनेछ। 

७६.२ किलोमिटर लम्बाइ रहेको द्रूतमार्गको समतलमा चौडाइ २५ मिटर हुनेछ भने पहाडी भेगमा २३ मिटर हुनेछ। द्रुतमार्गमा ९९ वटा पुल, दुई किलोमिटर सुरुङ मार्ग तथा आवश्कतानुसार पर्खालसमेत हुनेछन्। 

आर्थिक वर्ष २०७३÷७४ को बजेटमा सरकारले द्रुतमार्गको निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरिसकेको छ। गत जेठ २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्रुतमार्गको शिलान्यास गरेका थिए।  

एक खर्ब १२ अर्ब अनुमानित लागत रहेको द्रुतमार्गको ट्र्याक २०७० सालमा नेपाली सेनाले खोलेको थियो। द्रुत मार्ग निर्माणपछि तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको बाटो यही हुनेछ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell