काठमाडौं: डकुमेन्ट्री 'द लास्ट हनी हन्टर' निर्माता बेन आयर्सले १९ वर्ष नेपालमा बिताए। उनी नेपाली भाषा मजाले बुझ्छन् र बोल्छन् पनि। १५ औं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल समापनका दिन उनले नेपाली भाषामा नै किम्फ आयोजक, दर्शक र डकुमेन्ट्री निर्माण सम्भव बनाउने सबैलाई धन्यवाद दिए।
पहिलोपटक 'स्पेसियल मेन्सन अवार्ड'को विजेता घोषणा हुँदा स्टेजमा चढेका थिए। उनले इङ्लिसमा जुरी र आयोजकलाई धन्यवाद भने। दोस्रोपटक 'अडियन्स च्वाइस अवार्ड' विजेताले नै जित्दा उनी स्टेजमा चढे र भने,'अघि नै नेपालीमा बोल्छु भनेको लाज लाग्यो। अब चाहिं नेपालीमा नै सबैलाई धन्यवाद दिन्छु। किनकी यो नेपाली अडियन्सले दिनु भएको माया हो।' उनले आफूले नेपालमा बिताएको समयले आफूलाई दिएको खुशी, सत्कारको लागि केही तिर्न मन भएको र नेपालीको जीवनमाथि डकुमेन्ट्री बनाएको बताए। उनले नेसनल जिओग्राफिकसँगको सहकार्यमा निर्माण गरेको 'द लास्ट हनी हन्टर'मा माउले धन पात्रले मह काड्दा गर्ने मिहेनेत देखाएका छन्। माउले धनलाई भिरमा मह काड्ने साहसी तर अन्तिम व्यक्तिको रुपमा चित्रण गरिएको छ।
भने,'नेपालको दुर्गम ठाउँहरुमा जानु पर्छ कथा र पात्रहरु त जति पनि भेटिन्छन्। उनीहरुलाई बाहिर ल्याउन आवश्यक छ।' फिल्मको कथाको पात्रले अवार्ड जितेको बताउँदै थपे,'नेपालले मलाई धेरै कुरा दिएको छ। यस्तै फिल्महरुमार्फत फिर्ता दिन कोसिस गर्छु।'
उनी पोर्टस् प्रोग्रेस नामक संस्थाका लागि निर्देशक हुन्। संस्थाले पर्वतारोही र ट्रेकिङ पेशामा संलग्न विभिन्नका लागि काम गर्छ। अमेरिकी नागरिक बेन बिकास, निर्माण र सामाजिक उत्थानको लागि काम गर्न चाहन्छन्।