
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ।
खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँबासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले मंगलबार छलफल गरेको हो।
मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र कहिले धुवाँ र धुलोबाट मुक्त होइन्छ भन्दै नागरिकका तर्फबाट चासो र चिन्ता बढेपछि आयोगले आयोजनाका पदाधिकारीलाई बोलाएर छलफल गरेको आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए।
आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आयोजनाको कार्यप्रगति र काठमाडौँ उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धुवाँ, धुलोले पारेको नकारात्मक प्रभावका बारेमा सम्बन्धित सरोकार निकायका प्रमुखसँग जानकारी लिँदै तत्काल पुनःनिर्माण गर्न निर्देशन दिए।
सम्बन्धित निकायबीच समन्वयको अभावमा धेरै ठाउँमा कमजोरी देखिएको भन्दै प्रमुख आयुक्त बस्न्यातले काठमाडौँ उपत्यका खानेपानी आयोजनाको वितरण प्रणाली ठीक नभएको र नागरिकले शीघ्र रुपमा सेवा पाउने उपायका बारेमा सम्ब्न्धित पक्षलाई निर्देशन दिए।
आयुक्त नवीनकुमार घिमिरेले मेलम्ची खानेपानी आयोजनाले जुन गतिमा काम गर्नुपर्ने हो त्यसअनुसार नभएको उल्लेख गर्दै जनताको चासोका विषयलाई छिटो सम्बोधन गर्न आयोजनालाई आग्रह गरे।
जनताले मेलम्ची आयोजना कहिले सम्पन्न हुन्छभन्दा पनि धारामा कहिले पानी आउँछ भनेर चासो राख्ने गरेको भन्दै त्यसका लागि भइरहेका प्रयासका बारेमा प्रस्ट रुपमा जानकारी दिनुपर्ने दायित्व आयोजनाको हो कि होइन भनेर प्रश्न गरेका थिए।
राष्ट्रिय गौरवको आयोजना भन्ने तर काम गर्ने प्रवृत्ति चाहिँ पुरानै शैलीको भएको भन्दै अर्का आयुक्त डा गणेशराज जोशीले ढिला गर्ने प्रवृत्तिको अन्त्य गरेर जिम्मेवारीबोधका साथ काम गर्न आयोजनाका अधिकारीलाई आग्रह गरे।
मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सोही आयोजनाका परियोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले धेरैजसो पाइप बिच्छ्याइएको स्थानमा कालोपत्र र पुनःनिर्माणको काम भएको भए पनि केही स्थानमा भने नभएको बताएका थिए।
पुनःनिर्माण गर्नुपर्ने स्थानमा आयोजनाले विशेष प्राथमिकतामा राखी धुलो र धुवाँ हटाउने कार्यलाई प्राथमिकता राखिएको बताए। आयोजनाको सुरुङ निर्माणको काम करिब सम्पन्न हुने चरणमा पुगेको र आगामी दुई हप्तामा अम्बाथान–ग्याल्थुम खण्ड ‘ब्रेक थ्रू’ हुने सम्पन्न हुने कार्यकारी निर्देशक देवकोटाको भनाइ थियो। उक्त खण्डमा सय मिटर सुरुङ खन्न बाँकी रहेको छ ।
देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक थ्रू गर्न बाँकी रहने र त्यो पनि केही समय भित्रै सम्पन्न हुने छ। उक्त खण्डमा ५१५ मिटर जति सुरुङ खन्न बाँकी रहेको छ। नरम चट्टान भएका कारण सुरुङ खन्न समस्या आएको आयोजनाले जनाएको छ। सुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलब चार किलोमिटर लामो सुरुङ २०७३ पुसमा नै निर्माण सम्पन्न गरिएको थियो।रासस