
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)मा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज भिड्दैछन्।
दुवै टिमले मंगलबार भएको आफ्नो पहिलो खेलमा जित हात पारेका थिए। त्यसैले पारस खड्काको विराटनगर र शक्ति गौचनको पोखराबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।
विराटनगरमा हङकङका खेलाडीद्वय बाबर हायत र अंशुमन रथ जस्ता खेलाडी छन्। यता पहिलो खेलमै ४ विकेट लिनुका साथै नटआउट ६१ रन बनाएका पाकिस्तानी खेलाडी इस्राररुल्लाह पोखराका खतरनाक खेलाडी हुन्। उनीसँगै पोखरामा ताज वाली र आसिफ अली जस्ता विदेशी खेलाडी छन्।
यस्तै आजै हुने दोस्रो खेलमा काठमाडौं किंग्स एलेभेन र भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। काठमाडौं पहिलो खेलमा ललितपुर प्याट्रिओट्ससँग पराजित भएको थियो भने भैरहवाका लागि यो पहिलो खेल हुनेछ।