
- सुरेन्द्र कुमार कामती
सिरहा: सिरहाको कर्जन्हा नगरपालिकामा प्रहरी चौकी नजिकै सुरुङ खनेर चोरी भएको छ। अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ का ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको हो।
सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो। यस्तै, रामबहादुर राउत र जयकिशोर महराको घरमा सुरुङ खनेर चोरी भएको हो।
सरोजको घरवाट १ लाख २० हजार नगद, आधा तोलाका सुनका गरगहना र लत्ताकपडा चोरी भएको छ। धर्मेन्द्रको घरबाट २० हजार नगद र आधा तोला सुनका गहना, प्रेमा यादवको घरबाट ४० हजार, रामपुजन घरबाट ४० हजार नगद, सुनका आधा तोलाका गरगहना चोरी गरेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ।
प्रहरी चौकीदेखि २ सय मिटरको दूरीमा सुरुङ खनेर चोरी भएको हो। एक महिना पहिले पनि कर्जन्हा नगरपालिका ७ मा ५ घरमा चोरी भएको थियो।