ओटावा : उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले जनवरीमा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन्।
अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले मङ्गलबार सम्मेलन आयोजना गर्ने बारे निर्णय सार्वजनिक गरेका हुन्। जनवरीमा सम्मेलन आयोजना गर्ने र त्यसमा संयुक्त राष्ट्रसंघका लागि दक्षिण कोरिया र जापानी विशेष दूतको पनि सहभागिता रहने बताइएको छ।
क्यानाडेली विदेशमन्त्री क्रिश्टिया फ्रिल्याण्डले मङ्गलबार ओटावामा आयोजना गरिएको पत्रकार सम्मेलनमा भनिन्– हामीले उत्तर कोरियाको आणविक सङ्कटको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट खोजियोस भनेर यो सम्मेलन गर्ने निर्णय गरेका हौँ।
हाल अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन क्यानाडाको भ्रमणमा छन्। पत्रकार सम्मेलन टिलर्सन र क्यानाडेली विदेशमन्त्रीले संयुक्त रुपमा आयोजना गरेका हुन्।
सम्मेलनबाट उत्तर कोरियालाई आणविक कार्यक्रमलाई रोकेर शान्तिपूर्ण रुपमा वार्ताका लागि टेबलमा आउन दवाव सिर्जना गर्ने उनले जानकारी दिइन्।
उता मङ्गलबार मात्र जापानले आफ्नो भूमिमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने जनाएको थियो। जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रको आक्रमणबाट जापानलाई जोगाउने उपायस्वरुप यस्तो प्रणाली जडान गर्न लागिएको बताइएको छ।
जापानमा यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ। विदेशमन्त्रीहरुले आगामी दिनमा कोरिया सङ्कटको समाधानका लागि के कस्ता उपायहरु अवलम्बन गर्ने भन्ने बारेमा आवश्यक निर्णय र परामर्श गर्ने बताइएको छ।
विदेशमन्त्रीहरुको सम्मेलनमा कुन कुन देशका विदेशमन्त्रीहरुको सहभागिता रहने भन्ने बारेमा भने केही खुलाइएको छैन।
उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको मात्र नभई विश्वमा नै यसले निकै तनाव बढाएको छ। रासस/एएफपी