
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वाम गठबन्धनका नेताहरुलाई अध्यादेश सम्बन्धी विवाद राजनीतिक सहमतिमै जुटाउन आग्रह गरेकी छन्।
बुधबार बिहान शीतलनिवासमा वाम गठबन्धनका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, मओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुवास नेम्वाङ र नारायणकाजी श्रेष्ठलार्इ राष्ट्रपति भण्डारीले सहमतिमै अघि बढ्न सुझाव दिएकी हुन्।
डेढ घण्टाको भेटमा नेताहरुले राष्ट्रपतिसमक्ष अध्यादेश विवाद र हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबारे जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए।
शर्माले भने, ‘मुख्यतः आजको भेटमा हालै सम्पन्न निर्वाचनबारे जानकारी दिनुभयो र यसैसम्बन्धी छलफल भयो।‘
संसदमै विवाद भएको विषय भएकाले अध्यादेश सम्बन्धमा राजनीतिक दलका नेताहरुबीच नै सहमति गरी अघि बढ्न राष्ट्रपतिले सुझाएको शर्माले बताए।
सरकारले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश कार्तिक १ गते राष्ट्रपति कार्यालयमा पेश गरेको थियो। उक्त अध्यादेश स्वीकृत नगरेकाले नयाँ सरकार गठनको बाटो रोकेको सरकारका प्रवक्ता मोहन बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी बताएका थिए। यता वाम गठबन्धनकाले भने अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई दवाव दिदैं आएको छ।