काठमाडौं : ओपनर अंशुमन रथले अर्धशतक बनाएपछि विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा लगातार दोस्रो जित हासिल गरेको छ।
बुधबार टीयू मैदानमा भएको खेलमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको हो। विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रिओट्सलाई ६ रनले पराजित गरेको थियो।
पोखराले दिएको १२३ रनको लक्ष्य विराटनगरले २ बल बाँकी छदा ७ विकेट गुमाएर पूरा गरेको हो।
विराटनगरको जितमा अंशुमनले ६० रन बनाए। उनले ६१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै बाबर हायतले २३ तथा कप्तान पारस खड्काले ११ रनको योगदान गरे। पोखराका सुसन भारी र इस्रारउल्लाहले २-२ विकेट लिए।
त्यसअघि कप्तान पारसले ३ विकेट लिएपछि पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो।
पोखराका लागि राजेस पुलामी मगरले सर्वाधिक ३० रन बनाए भने इस्रार उल्लाहले २१ तथा सुनिल धमलाले १८ रन जोडे। ताज वाली १८ तथा सौरभ खनाल १६ रनमा नटआउट रहे।