PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

के दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ होला? 



बीपी साह

 के दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ होला? 

काठमाडौं : प्रदेशका नाम के रहने भन्ने चासो बढिरहँदा प्रदेश नम्बर २ मा भने नामको विषयलाई लिएर छलफल नै अघि बढिसकेको छ। नामाङ्कनका विषयमा चासो बढीरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेतृत्व तथा विधायकहरु दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ राख्ने विषयमा सहमति नजिक पुगेका छन्। तर, औपचारिक रुपमा अहिले नै निर्णय गरिसक्ने अवस्था नरहेको नेताहरुले बताएका छन्।

‘दुई नम्बर मात्र मधेश होइन। केही पूर्व र पश्चिमका जिल्लाहरु छुटेका छन्। ती जिल्लाहरुका लागि संघर्ष जारी रहनेछ,’ संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष एवं दुई नम्बर प्रदेशका मुख्य मन्त्री दावेदार विजय यादवले पहिलोपोस्टसँग भने, ‘दुई नम्बर प्रदेशको सदनले मधेशको पृष्ठभूमिलाई जोडेर नामाङ्कन गर्नेछ। मधेश शब्द हुनेमा हामी निश्चिन्त छौं र पार्टीको लाइन पनि यही हो।’
यादवले सदनको बैठकको निर्णयमा भरपर्ने भएकोले मध्य मधेश पनि विकल्प रहेको बताए।

झापादेखि कञ्चनपुरसम्मको २३ वटा जिल्लालाई मधेशको भूभाग भनी दाबी गरिए पनि मधेशवादी दलहरुको पकड दुई नम्बर प्रदेशका आठ जिल्लामा मात्र देखिएको छ। त्यसैलाई आधार मानेर मध्य मधेशको नामाकरण गर्ने तयारीमा दलहरु जुटेका हुन्।

दुई नम्बर प्रदेशबाहेक पूर्वका तीनवटा जिल्ला र पश्चिमका भूभागलाई मधेश–थरुहट भन्ने प्रचलन पनि बढ्दै गएको थियो। थरुहट आन्दोलनअघि समग्र मधेश एक प्रदेशको आन्दोलन बर्दिया कैलालीमासमेत भएको थियो। तर, थरुहट आन्दोलनपछि नवलपरासीदेखि कञ्चनपुरसम्मको भागलाई मधेश–थरुहट भन्न थालियो।

यी २३ वटा जिल्लाको भूभाग नेपालको कूल सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशमा बाँडिएको छ। जसमा मधेशी बाहुल्य भएको दुई नम्बर प्रदेश मात्र हो। प्रदेश सभाको निर्वाचनमा दुई नम्बर प्रदेशमा मधेशी दलहरुले बहुमत ल्याएका छन्। 

यता अधिकारकर्मी एवं अधिवक्ता दीपेन्द्र झाले दुई नम्बर प्रदेशलाई 'मधेश प्रदेश' राख्नेमा जोड दिएका छन्। समाजिक सञ्जालमा नामाङ्कनका विषयमा बहस चल्दा अधिवक्ता झाले दुई नम्बर प्रदेशमा मैथली र भोजपुरी भाषा भए पनि मुल पहिचान मधेश नै भएको दाबी गरेका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सचिव एवं राजपाबाट मुख्य मन्त्रीका सम्भावित उम्मेदवार उपेन्द्र महतोले प्रदेशको नाम र राजधानीका विषयमा काठमाडौंले विवाद गराउन खोजेको आरोप लगाए। ‘दुई नम्बर प्रदेशका विधायकहरु आफै सक्षम छन्, आपसी सहमतिमा नामाङ्कन गर्नेछन,’ महतोले भने, ‘नाममा पनि मधेशको भावना विपरित जाँदैन। समग्र मधेशीको भावनालाई समेट्ने छ।’

तर, एमाले निकट वुद्धिजीवी विजय दत्तले दुई नम्बर प्रदेशको नाम मिथिला राख्नु पर्ने बताउँदै आएका छन्। यसअघि पनि एमालेले दुई नम्बर प्रदेशमा मिथिला र भोजपुरा आन्दोलनलाई अगाडि बढाउने प्रयास गरेको थियो। 

राजपाका अर्का सचिव एवं विधायक सुरेश मण्डलले एमालेसहितका दलहरुले दुई नम्बर प्रदेशमा विवाद झिक्न खोजेको आरोप लगाए। मण्डलले दुई नम्बर प्रदेशको नाम मधेश राख्नेमा विवाद नै नरहेको बताउँदै पूर्वमा पनि मधेशको भाग र पश्चिममा पनि मधेशको भाग रहेकोले मध्य मधेश राख्दा उचित हुने बताए।

यता समाजिक अभियन्ता सरोज रायले पनि दुई नम्बर प्रदेशको नाम मध्य मधेश राख्दा अन्य प्रदेशमा परेका मधेशीहरुका लागि संघर्ष गर्न सजिलो हुने बताए। उनले दुई नम्बर प्रदेशका जनताहरु मधेश शब्दलाई आफ्नो पहिचान मानेकाले यसको नाम मध्य मधेश हुनु पर्ने तर्क गरे।
राजपाबाट उपमुख्य मन्त्रीका दाबेदार सुरिता साहले भनिन्, ‘मधेशमा सँधै मधेशकै लागि आन्दोलन भएको हो। आन्दोलनमा मधेशीहरुले नै मधेश सरकार लेखेको छ। त्यसकारण अहिले आएर नामाङकनको विषयमा बखेडा गर्नु उचित होइन।’

साहले दुई नम्बर प्रदेशको नाम मधेश नै रहने बताउँदै अगाडि सदनबाट पूर्वी मधेश अथवा मध्य मधेश राख्ने विषयमा टुंगो लाग्ने बताइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell