PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

कांग्रेस नेतृत्वलाई निर्वाचन परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा भेला आयोजना गर्न भातृ संगठनको माग



पहिलोपोस्ट

कांग्रेस नेतृत्वलाई निर्वाचन परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा भेला आयोजना गर्न भातृ संगठनको माग

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ । 

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताए। उनले भने,‘पार्टीको पराजयबारे वडा इकाई समितिदेखि केन्द्रीय तहका नेतासम्मले आत्मालोचना गर्नुपर्छ।’

बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेको छ। 

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले पार्टीले निर्वाचनमा ल्याएको नतिजाबारे महासमितिको बैठक बोलाएर छलफल हुनुपर्ने बताइन्। 

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पार्टीलाई बलियो बनाउन संगठनलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रहेको बताए। 

बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ । बैठकमा नेपाली कांग्रेसका विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell