काठमाडौं : काठमाडौंमा आजदेखि सुरु भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपालका प्रिन्स दहाल र सुनिल जोशी दोस्रो चरणमा प्रवेश गर्दा पहिलो दिन भारतीय खेलाडीले वर्चस्व कायम गरेका छन्। महिलातर्फ नेपालकी जेसिका गुरुङ दोस्रो चरणमा पुगिन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको सिरिजअन्तर्गत पुरुष एकलमा बंगलादेशका अरीफुल इस्लामसाग वाकओभर पाउँदै नेपालका प्रिन्स दाहाल दोस्रो चरणमा प्रवेश गरेका हुन्। यस्तै सुनिल जोशीले भुटानका जामयाङ तेन्जिङलाई २१–८, २१–४ को सेटमा हराए।
अन्य खेलमा भने भारतका खेलाडीहरुले जित हात पारे। भारतका यास योगीले नेपालका निरविक्रम देवकोटालाई २१–१८, २१–१५ को सेटमा पराजित गरे। भारतकै करन चौधरीले भुटानका विकाश श्रेष्ठबाट वाकओभर पाए। सन्दीप पेफुमल्लले अष्ट्रेलियाका जोसुआ मिन खोङलाई २१–१४, २१–१३ को सेटमा पराजित गरे भने भारतका क्रितेश ढिन्डवालाले नेपालका विवेश श्रेष्ठलाई २१–७, २१–८ को सेटमा हराए।
अर्को खेलमा भारतकै राहुल भारद्धाजले नेपालका विलाल वारीसलाई २१–११, २१– ४को सेटमा पराजित गर्दा रघु मरिस्वामीले पनि विलाल वारिसलाई २१–११, २१–४ को सेटमै हराए।
पहिलो खेलमा वाकओभर पाएका नेपालका बिकास श्रेष्ठ र जीवन आचार्य दोस्रो खेलमा पराजित भए। बिकास म्यानमारका अङ मेयोसँग २१ १४ २१ १८ ले तथा जीवन म्यानमारकै साइ उन फेटसँग २१-१७, २१-१६ ले पराजित भए।
जेसिका गुरुङ, फोटो : राखेप
महिला एकलतर्फ नेपालकी जेशिका गुरुङले भुटानकी थिन्ले वाङमोलाई २१–७, २१–८ को सेटमा पराजित गरिन्। यस्तै अन्य खेलमा नेपालकी समझना शर्मा, सीता राई, पुनम गुरुङ र रसिला महर्जन पराजित भए।
भारतकी कनिका कनवालले भुटानकी इडेन इडेनलाई पराजित गर्दा हङकङकी डेङ जोय झुङले नेपालकी सम्झना शर्मालाई २१–२,२१–८ को सेटमा हराइन्। यस्तै सीता राई भारतकी प्रनाली करानीसँग २१-९, २१-१५ ले पराजित भइन् भने पुनम भारतकै खुशी गुपतासँग २१-१७, २१-१४ ले हारिन्। तीन सेटसम्म चलेको खेलमा रसिला भारतकी विदु नायरसँग १९-२१, २५-२३, २२-२० ले पराजित भइन्।
यस्गरी पुरुष डबल्समा सुनिलले गौतम कठायतसँग मिलेर निहार केलकारको जोडीलाई २१-१३, २३-२१ ले पराजित गरे। नेपालकै जीवन र प्रफुल महर्जन भारतका वैभव र बसन्त कुमारको जोडीसँग २३-२१, २१-१४ ले पराजित भए।
दक्षिण एसिया बाहेक अष्ट्रलिया, दक्षिण अमेरिकी राष्ट्र चिलीसहित नेपाल इन्टरनेशनल ब्याटमिन्टन सिरिजमा १९ देशको सहभागिता रहेकोछ।