PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सुपर ग्यास उद्योगको आगलागी; 'यसरी भयो त्रासदीपूर्ण घटना'



राधेश्याम पटेल

सुपर ग्यास उद्योगको आगलागी; 'यसरी भयो त्रासदीपूर्ण घटना'

वीरगञ्ज: मंगलबार राति भारतबाट ल्याइएका ४ वटा ग्यास बुलेटमध्ये एउटाबाट ग्यास कम्पनीको स्टक गर्ने ट्याङ्कीमा पाइपमार्फत भर्ने काम भइरहेको थियो। बिहान ६ बजेदेखि ग्यास लिक हुन थाल्यो। कम्पनीका कामदार तथा गाडीका चालक, सहचालकहरु त्रसित बनेका थिए।

लिक भएको ग्यास नियन्त्रणभन्दा सबैको ध्यान सम्भावित आगलागीमै गयो। तत्काल दमकललाई खबर भयो। ग्यास लिक हुनसाथ दमकललाई खबर गरेर सबै बाहिर निस्केर दमकलको प्रतीक्षामा थिए।

‘दमकल आयो पनि तर आउने बित्तिकै आगलागी सुरु भयो।’ उद्योगका प्रशासन हेर्ने सन्तोष पटेल घटनाबारे भन्छन् ‘उद्योगको गेट खोलेर बसेका थियौँ। दमकल आयो भने पानीको पाइपभित्र लान सजिलो हुन्छ भनेर गेट खोलेर पर्खेका थियौँ। तर, दमकल आउने बितैका आगलागी उद्योगभर फैलियो।’

उनी घटनाबारे थप्‍छन् 'लिक भएको ग्यासको नोजल बन्द गर्न जानेको भए यत्रो घटना नहुने  रहेछ।'

आगलागी सुरु भएपछि भागदौड नै मच्चियो। ग्यासका सिलिन्डर र बुलेट पड्कन थालेपछी आगलागी एकैसाथ फैलियो।

आगलागी भएको ९ घण्टाबाट आगो आफैं नियन्त्रणमा आएपछि थालेपछि प्राविधिक र प्रहरीको टोली उद्योगमा पुगेर आगो पूर्ण रुपमा नियन्त्रणमा लिए। मनोज ग्यासका प्राविधिकहरुको टोली पनि आगो निभाउँन घटनास्थलमा पुगेको थियो।

सुपर ग्यास आगलागीमा परी अग्नि नियन्त्रक टोलीका दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीका यादवप्रसाद अधिकारी र तनहुँका मधुसुदन मिश्र रहेका छन्। उनीहरुको शव मृत अवस्थामा उद्योगको गेटभन्दा १०० मिटर दक्षिण खेतमा भेटिएको थियो। शवलाई नारायणी अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ।

गम्भीर घाइते हुनेमा वारुणयन्त्रकर्मी सञ्जीव नेपाल र अरुण कुमार महतो रहेका छन्। महतो आगोले जलेर नष्ट भएको दमकलको चालक हुन्। घाइते भएका नेपाल र महतोलाई हेलिकप्टरबाट काठमाडौं थप उपचारको लागि पु¥याइएका छ। समान्य घाइते उद्योगका सुरक्षागार्ड अमिका पटेलको उपचार वीरगंज हेल्थकेयरमा भइरहेको छ।

 

प्राविधिकको दाबी ‘दमकलबाटै आगलागी’

सुपर ग्यास उद्योगको प्लान्टमा भएको आगलागी उद्योग भित्रबाट नभइ बाहिरबाट सुरु भएको प्राविधिकहरुले दाबी गरेका छन्। ग्यास लिक भएपछि बोलाइएको दमकलको साइलेन्सरबाट निस्केको आगोको झिल्कोबाट आगलागी भएको प्राविधिकहरुको दाबी छ।

बारा सिमरामा रहेको नेपाल ग्यासका सिनियर प्लान्ट इञ्चार्ज साहनैन साहले भने ‘ बुलेटबाट ग्यास खाली गर्ने बेला लिक भएर चारैतिर ग्यास फैलिएको थियो। ग्यास बन्द गर्न कम्पनीका मजदुरले जानेनन्। उल्टै बारुण यन्त्रलाई फोन गरे। दमकल ५०० मिटर टाढा रोकिनु पर्नेमा उद्योगको मुलगेटमा आयो त्यतिकैमा दमकलको साइलेन्सरबाट आगलागी सुरु भयो।’

साहले ग्यास लिक बन्द गर्ने प्राविधिकको सट्टा दमकल बोलाउनु गल्ती भएको बताए।

 

'१५ करोडको क्षति'

सुपर ग्यास उद्योगको प्लान्टमा आगलागी हुँदा १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागी पुरै प्लान्ट जलेर ध्वस्त भएको छ। भारतबाट बुलेट लिएर आएका ४ वटै गाडीका इन्जिन र चक्का जलेका छन्।

एउटा बुलेटको करिब १८ हजार लिटर ग्यास लिक भएको छ। बाँकी ३ वटा बुलेटको ग्यास भने सुरक्षित छ। खाली सिलिन्डर र ढुवानी गर्ने दुई मिनी ट्रकहरु पुरै ध्वस्त भएका छन्।

पूर्ण रुपमा क्षतिको विवरण नआए पनि कम्पनीले १५ करोड बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरेको छ। उद्योगका प्रवन्धक दिगम्वर झाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए। उनले १५ करोड बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको बताएका छन्।

स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गरिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell