
कास्की : पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले महानगरका पशु शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्याललाई हातपात गरेका छन्।
बुधबार पोखरा १३ को आर्वा पशु सेवा केन्द्रले आयोजना गरेको किसानसँगको अन्तरक्रिया कार्यक्रममा तामाङले हातपात गरेका हुन्।
पशु सेवा केन्द्र आफ्नो क्षेत्रमा कार्यक्रम गर्दा आफूलाई नसोधेको र कार्यक्रममा नबोलाएको भन्दै तामाङले आफुमाथि हातपात गरेको अर्यालले बताएका छन्।
उनले तालिम केन्द्रबाट बोलाएकाले आफू किसानहरुसँग छलफल गर्दै गरेको बेला वडा अध्यक्षले बाहिर बोलाएर अपशब्द प्रयोग गर्दै थप्पड होनेको बताए।
‘वडा अध्यक्ष ज्यू आएर एक्कासी बाहिर आईज भन्नुभयो। म बाहिर आउने वित्तिकै गालामा झापड हानेर अपशब्दले गाली गर्नुभयो’ अर्यालले भने।
आरोपित वडा अध्यक्ष तामाङले भने अर्यालले आफैंलाई हिर्काएर भागेको आरोप लगाएका छन्। ‘वडामा भएको कार्यक्रममा मलाई जानकारी नभएपछि मैले किन खबर नगरेको भनेर सोधेको हुँ। कार्यक्रम चलिरहेकाले बाहिर बोलाएँ, उनले भने–अर्यालजीले मलाई धकेलेर अपशब्द बोल्दै जानुभयो।’
कर्मचारी मिलेर आफूलाई पसाउन खोजेको आरोप तामाङले लगाएका छन्। ‘मैले झापड हानेको भए म आफैं प्रहरीलाई किन खबर गर्थें ?तामाङले भने। गल्ती कसको हो छर्लङ्गै छ ।’ तामाङले राजनीतिक रंग जोडिएकाले आफूमाथि षड्यन्त्र भएको गुनासो गरे । उनी एमालेकातर्फबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्।
पशु सेवा केन्द्रकी प्रमुख कमला खत्रीले वडा अध्यक्षलाई पनि कार्यक्रममा निमन्त्रणा गरेको बताईन्। ‘उहाँलाई चिठी पठाएका थियौं। कर्मचारीले चिठी बुझेको ओसीसमेत आफूसँग छ।’
घटनापछि अर्यालले कारबाहीको माग गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र कार्यकारी अधिकृत दीर्घनारायण पौडेललाई निवेदन दिएका छन्।
उता तामाङले वडा प्रहरी कार्यालय रामबजारमा सुरक्षाको मागसहित निवेदन दिएका छन्। मेयर जिसीले घटनाबारे छानविन गरेर दोषीमाथी कारबाही हुने बताए। ‘हामी छानविन गर्दैछौं। जसले गल्ती गरेपनि कारबाही हुन्छ’ उनले भने।