PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

शिकारको मोह, अपराधको यात्रा



सविन ढकाल

शिकारको मोह, अपराधको यात्रा

काठमाडौं : बुधवार दिउँसो सुनिल, सुशान्त, विजय र अंजित तामाङ हुल बनाएर शिवपुरी जंगलतिर लागे। जंगल छिर्नुको एउटै उद्देश्य थियो अवैध शिकार गर्नु। जंगलमा मृगको शिकार गर्ने पल्किएका थिए उनीहरु। चारै जनाले विद्यालय छोडेको धेरै भइसकेको थियो।

सुशान्त र अंजित त नाबालक नै हुन्। दुवैको उमेर १४ वर्षपनि नाघेको छैन। सुनिल भने २० वर्षका हुन्। विजयको उमेर १८ वर्ष मात्र छ। अध्ययन छोडेका बेरोजगार युवा।

उनीहरुसँग शिकारका लागि साथमा थियो भरुवा बन्दुक। उनीहरुले केही दिनको मेहनतले घरैमा भरुवा बन्दुक बनाएका थिए। बजारमा पाउने फलामे पाइपबाट बन्दुक बनाएको प्रहरी अनुसन्धानमा देखिएको छ। 

बन्दुकमा छर्राको लागि साइकलमा प्रयोग हुने गिल्टी अनि बारुदमा सलाईको काँटीको माथिको भाग प्रयोग गरेका थिए। महानगरीय प्रहरी कार्यालयकका एसएसपी पूर्णचन्द्र जोशी भन्छन्, 'घरेलु सामाग्रीलाई नै प्रयोग गरेर हतियार बनाएको देखियो।'

दिउँसोतिर जंगल छिरेका उनीहरुले केही भित्र पुगेपछि कतै सर्‍याक सुरुक गरेको आवाज सुने। टक्क अडिए र चनाखो भए। मृग आउने र मार्ने योजनामा जंगल छिरेका उनीहरुलाई मृग नै भएको महसुस भयो। बिस्तारै झारपात हल्लिएको गएको थियो। केही सेतो कालो कालो रंग समेत देखे। त्यसपछि मृग भएको भन्दै फायर खोले। लगातार दुई गोली हाने। 

सुनिलले चलाएको गोलीको शिकारमा मृग हैन घाँस काट्न गएकी ३५ वर्षीया दुर्गा पोख्रेल परिन्। उनको पाखुरा र कोखमा गोली लाग्यो। मृग नभएर महिला भएको थाहा पाएपछि चारै जना भागे। 

बन्दुकको आवाज सुनेर प्रहरी पुग्दा दुर्गा छट्पटाइरहेकी थिइन्। उनलाई तत्काल अस्पताल पुर्‍याइयो। उनी खत्तरामुक्त छिन्। प्रहरीले गोली चलाउने चारै जनालाई केही घन्टामै समात्न सफल भयो। मृग भनेर गोली हान्दा महिला परेको बयान प्रहरीमा दिएको परिसरका एसएसपी रवीन्द्र धानुकले बताए। 'मृगलाई हानेको गोली महिलालाई लागेको रहेछ,' उनले भने।

शिकार गर्नु कानुनविपरित हो। पक्राउ परेका चार मध्ये सुनिल तामाङ यसअघि पनि विभिन्न अभियोगमा जेल पर्दै आएको खुलेको छ। सुनिल लुटपाट र ठगीमा पटक पटक जेल परेका हुन्। निकुञ्ज र बस्ती जोडिएकाले यहाँ लुकीचोरी मृगको सिकार हुँदै आएको छ। यस क्षेत्रमा मृग र कालिज सिकार गरेर बिक्री समेत हुने गरेको खुलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell