
काठमाडौः नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रियसभा सम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्नुपर्ने बताएका छन्। उक्त अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताए।
महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएको प्रति टिप्पणी गर्दै भने, ‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धती हुँदैन, संविधानमा कहाँ लेखेको छ त? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो, बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ। तर एमाले अध्यक्ष केपी ओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दै हुनुहुन्छ, यो अहंकार हो।’
स्थानीय तहको परिणाम आइसकेपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको गर्यो भनेर आरोप लगाउनु नै गलत भएको उनको तर्क थियो। उनले थपे, ‘अहिले हाम्रो ठाउँमा एमाले–माओवादी केन्द्र हुन्थे भने राष्ट्रपतिले किन अध्यादेश स्वीकृत नगरेको भनेर नारा र जुलुस निस्किन्थ्यो।’
उनले आफूहरुलाई सरकारमा बसिरहने रहर नै नभएको जिकिर गरे। उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं, संविधानलाई लत्याएर देश चल्छ?’ उनले अहिले प्रधानमन्त्री देउवाले राजिनामान दिने जिकिर गर्दै भने, ‘उहाँले अहिले सरकार छोड्दै छोड्नुहुन्न।’
उनले राष्ट्रपतिले जति अध्यादेश रोक्यो उति नै मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताए। महतले थपे, ‘यो अध्यादेश लैजाँदै गर्दा माओवादी केन्द्र जो अहिलेपनि सरकारमै छ, उहाँहरुको असहमति थिएन्, यस बारेमा माओवादी केन्द्रको नेतृत्वले स्पष्ट दृष्टिकोण दिनुपर्छ।’
उनले वाम गठबन्धनले ५ वर्ष होइन ५० वर्ष शासन गर्छु भनेको उल्लेख गर्दै भने, ‘सक्नेसम्म चलाए हुन्छ, उहाँहरुले ५० वर्ष त के? पाँच वर्ष पनि चलाउन सक्दैनन्, कांग्रेस कुनै दल भन्दा कमजोर छैन।’