PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

वीरगञ्जको ठाकुरराम क्याम्पसमा एकाबिहानै विद्यार्थीमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक



पहिलोपोस्ट

वीरगञ्जको ठाकुरराम क्याम्पसमा एकाबिहानै विद्यार्थीमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक
तस्बिर: रोहित बर्णवाल

वीरगञ्ज वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बिहानै अज्ञात समूहले एक विद्यार्थीमाथि छुरा प्रहार गरेको छ। बिहान साढे ७ बजेको समयमा ५ जनाको अज्ञात समूहले बीबीएस प्रथम वर्षका विद्यार्थी रोशन यादवमाथि छुरा प्रहार गरेको हो।

यादवको छाती र हातमा छुरा प्रहार गरी ज्यान लिने प्रयास भएको विद्यार्थी फोरमका नेता निखिल बर्णवालले जानकारी दिए।

वीरगञ्ज १३ राधेमाई घर भएका घाइते विद्यार्थी यादवको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएर गण्डक अस्पताल रिफर गरिएको छ। यादवको अवस्था चिन्ताजनक रहेकाले रिफर गरिएको अस्पतालका चिकित्सक डा. मनोज गुप्ताले बताए।

ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले गुन्डा प्रकृतिको एक समूहले विद्यार्थीमाथि हमला गरेको बताए।

‘म बिहान कक्षा लिइरहेको थिएँ। अचानक घटना भयो। बाहिर गएर हेर्दा ५/६ जना विद्यार्थी भागिरहेका थिए' घटनाबारे उनले भने, ‘एक जना जमिनमा ढलेको थियो, नजिकैको सशस्त्र प्रहरीको सहयोगमा रोशनलाई अस्पताल पुर्‍याइएको छ।’

उनले विद्यार्थीबीच हिजो व्यक्तिगत कुरामा सामान्य झगडा भएको पनि बताए। वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको बताए।

'केही व्यक्तिको नाम आएको छ, चाँडै छुरा प्रहार गर्ने समूहलाई समात्छौँ' कर्णले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell