
काठमाडौँ: जारी राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।
सरकार गठन र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा दलबीच मतभेद भइरहेका बेला प्रधानमन्त्रीले विवाद सुल्झाउन राजनीतिक पहल सुरु गरेका हुन्।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचन परिणामपछि पहिलो पटक प्रधानमन्त्री देउवाले पाँच राष्ट्रिय दलका प्रमुखलाई छलफलमा आमन्त्रण गरेका हुन्। बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आइसके पनि समानुपातिक नतिजा सार्वजनिक भएको छैन। निर्वाचन आयोगले शुक्रबारसम्म समानुपातिक नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
मतपरिणाम औपचारिक रुपमा सार्वजनिक नहुँदा सरकार गठनको प्रक्रिया अघि बढेको छैन। मतपरिणाम सार्वजनिक भए पनि राष्ट्रियसभा गठन बिना सरकार बनाउन मिल्ने वा नमिल्ने सत्तारुढ गठबन्धन र वाम गठबन्धनबीच विवाद छ।
सत्तापक्ष राष्ट्रियसभा निर्वाचनपछि सरकार गठन हुनु पर्ने अडानमा छ। वाम गठबन्धन राष्ट्रियसभा गठन नभए पनि सरकार गठन नरोकिने अडानमा छ।
यस्तै, सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकमा पनि दलबीचमा विवाद छ। सत्तारुढ गठबन्धन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा राष्ट्रियसभा गठनको पक्षमा छ। भने, वाम गठबन्धन बहुमतीय प्रणालीको पक्षमा छ।