
काठमाडौं: प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाको लागि भर्ना गरिएका म्यादी प्रहरी आजबाट बिदा भएका छन्। ५५ दिनका लागि भर्ना भएका म्यादी प्रहरी ४५ हजार रुपैयाँभन्दा बढी रकम बुझेर घर फर्किएका हुन्।
कतिपय जिल्लामा औपचारिक रुपमा बिदाई भएको छ। कतिपयमा सुविधा लिएर बिदा भएका छन्।
सरकारले मंसिर १० र २१ गतेको निर्वाचनका लागि देशभर ९८ हजार २६८ जना म्यादी प्रहरी भर्ना लिएको थियो। नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले आजबाट सरकारले तोकेको सेवा सुविधा र प्रमाणपत्रसहित म्यादी प्रहरी बिदा भएको जानकारी दिए।
निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ५५ दिनको थियो। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाइपाई आएको तलब तथा भत्ता बराबरको रकम पाएका छन्। प्रहरी जवानको तलब सरह मासिक १७ हजार २३० रुपैयाँ म्यादी प्रहरीले पाएका छन्। तराईका जिल्लामा दिनको १९७ रुपैयाँ रासन बापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँ अनुसार फरक/फरक रकम पाउने छन्। म्यादी प्रहरीले ग्रेड पाउँदैनन्।
म्यादी प्रहरीले पनि सोही सुविधा पाएका छन्। निर्वाचनमा खटिने भएकाले दुई जोर लत्ताकपडाको पैसा खाजा खर्चसहितको सुविधा लिएर उनीहरुको बिदाई गरिएको हो।
नेपाल प्रहरीले असोज २४ गतेदेखि म्यादी प्रहरीमा आवेदन लिएको थियो। म्यादी प्रहरीको सुविधाबारे कतै विवाद नभएको डिआइजी न्यौपानेले बताए।