PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै, वाम एकता संयोजन समितिको बैठक पनि आजै



पहिलोपोस्ट

सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै, वाम एकता संयोजन समितिको बैठक पनि आजै

काठमाडौँ :  निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा माओवादी केन्द्र सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ। 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्नेछ। 

सचिव ज्ञवालीले केन्द्रसँगको एकता सकेसम्म छिट्टै गर्ने तयारीमा आफूहरु रहेको बताए। त्यस्तै, एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि आज बस्दैछ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका ती दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको एकता संयोजन समिति सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।

एकता संयोजन समितिमा एमालेकातर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम छन् भने माओवादीकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायाकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell