PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

नयाँ सरकार बनाउने विषयमा प्रधानमन्त्रीले डाकेको शीर्ष नेतासँगको बैठक निष्कर्षहीन



बीपी साह

नयाँ सरकार बनाउने विषयमा प्रधानमन्त्रीले डाकेको शीर्ष नेतासँगको बैठक निष्कर्षहीन

काठमाडौं : निर्वाचनपछि नयाँ सरकार बन्ने विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको राष्ट्रिय दलहरुको बैठक निष्कर्षहीन रुपमा सकिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र नयाँ सरकार निर्माणका प्रमुख दुई एजेन्डामा छलफल भए पनि सहमति जुट्न सकेन।
बैठकपछि पहिलोपोस्टसँग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, 'दुईवटा एजेन्डा रहे पनि सहमति जुटेन।'

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सहमति हुन नसकेको प्रतिक्रिया पत्रकारहरुलाई दिए। 'राष्ट्रपतिसमक्ष पठाएको विधेयक स्वीकृत नगरेसम्म अरु प्रकृया अगाडि बढ्दैन भन्ने हाम्रो धारणा राख्यौं,' पौडेलले भने। उनले दलहरुबीच सहमति भइनसकेको बताए। 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिकहाँ गएको अध्यादेश र त्यसअघि तयार भएको विधेयकको अन्तर्वस्तुमा फरक भएकोबारे छलफल गरिएको बताए। 'हामीले संविधानमा एकल संक्रमणको व्यवस्था नरहेको बतायौं,' उनले भने, 'त्यसैले नयाँ सरकार गठनका लागि सरकारले मार्ग प्रशस्त गर्नुपर्छ भन्यौं।'

श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न तयार रहेको बताए पनि ठोस सहमति भने भएन। 'यसमा थप छलफल गर्नुपर्ने देखियो,' श्रेष्ठले भने, 'सहमति केही पनि भएन।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell