
काठमाडौँ : सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रियसभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लबको साक्षात्कारमा गौतमले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्ने बताए।
मन्त्री गौतमले समानुपातिक–समावेशी सिद्धान्तका आधारमा एकल संक्रमणीय व्यवस्थाअनुसार अध्यादेश ल्याइएको भन्दै राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उनको भूमिकामा टिप्पणी गर्नु अमर्यादित हुने बताए।
कांग्रेस र एमालेबीच राजनीतिक दूरी बढिरहेको अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यमार्गी भूमिका खेल्नुपर्ने उनले बताए।
संस्थागतरुपमा कांग्रेस सञ्चालन हुन नसक्दा पराजय भोग्नु परेको भन्दै मन्त्री गौतमले अहिलेको परिणामले कांग्रेसलाई स्तब्ध बनाएको बताए।रासस