
काठमाडौं: यशराज फिल्मसको ब्यानरमा बनेका पछिल्ला फिल्मले विश्वव्यापी रुपमा नै राम्रो प्रदर्शन गरेका छैनन्। नेपालको हकमा पनि परिवेश फरक रहेन। स्टारडम कै पछि दर्शक नलाग्ने रैछन् भन्ने प्रमाण हुन् साहरुख अभिनित फिल्म 'फ्यान' र सलमान खानको 'सुल्तान'। अन्य फिल्महरु बेफिक्रे, मेरी प्यारी बिन्दु आदि पनि बक्सअफिसमा कमजोर साबित भए। जसको असर नेपालको लागि फिल्म वितरक गोपीकृष्ण मुभिजलाई पर्नु स्वभाविक हो।
त्यो व्यवसायिक असरलाई ध्यानमा राखेर यशराज फिल्मसले 'टाइगर जिन्दा हे' नेपाल खरिदको पुरै पैसा मागेन। गोपीकृष्ण मुभिजका व्यवस्थापक निरज पौडेलका अनुसार फिल्मको लागि एड्भान्स रकममात्र दिइएको छ। नेपाली रुपैयाँ साढे तीन करोडमा फिल्म किनेको हो। 'केही प्रतिशत मात्र तिरेका छौं। बाँकी प्रदर्शनपछि दिने सहमती भएको हो।'
यसअघि 'बाहुबली २' नेपालको लागि ४ करोडमा किनिएको थियो। बाहुबली २ पछि टाइगर जिन्दा हे दोस्रो महङ्गो फिल्म हो।
सलमान र कट्रिना फ्यानको लागि अर्को खबर के छ भने यी दुई स्टारर फिल्म 'टाइगर जिन्दा हे' टिभीमा पनि उपलब्ध हुने भएको छ। शुक्रबार देशभर १ सय २५ स्क्रिनमा एकसाथ रिलिज भएको फिल्म डिसहोममार्फ हेर्न मिल्ने गोपीकृष्ण मुभिजले जानकारी दिएको हो।
प्रदर्शनमा आएको ६ सातापछि डिसहोममा पैसा तिरेर फिल्म हेर्न पाइने छ। दिइएको जानकारी अनुसार डिसहोम च्यानल ११७ र ११८ नम्बरका च्यानलमा प्रदर्शन हुनेछन्।
'टाइगर जिन्दा हे'को नेपाल वितरक गोपीकृष्ण मुभिज हो तर फिल्मको टिभी रिलिज भने गोपीकृष्ण मुभिज र डिसहोमले संयुक्त रुपमा स्थपना गरेक एसएन स्टुडियोमार्फत हुँदैछ। आयोजित प्रेसमिटमा गोपीकृष्णका प्रमुख निरज पौडेलले भने,'अब यो स्टुडियोमार्फत बलिउडका सबै फिल्म टिभी रिलिज हुनेछ।'