
जकार्ता : इन्डोनेसियामा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुस्लिम देशमा क्रिसमसका समयमा हुनसक्ने हिंसालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले जनाएका छन्।
जकार्ताका अधिकारीहरुले जनाएअनुसार सरकारले नयाँ वर्ष र क्रिसमसको समय पारेर जकार्तामा मात्र १ लाख ८० हजार थप सुरक्षाकर्मी खटाउने तयारी गरिएको।
आजै साँझदेखि सुरक्षाको नयाँ कार्यक्रम घोषणा गरिने छ। यस महिनाको सुरुमा नै देशका विभिन्न भागमा गरिएको खानतलासीबाट १३ जना सशस्त्र इस्लामिक लडाकूलाई प्रहरीले पक्राउ गरेको बताइएको छ।
क्रिसमसको पूर्वसन्ध्या पारेर जकार्तामा हिंसा मच्चाउने तयारी गरिरहेको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो। यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको र उनीहरुको बारेमा तथ्य बाहिर ल्याउने जनाएको छ।
पक्राउ गरेका केहीको इस्लामिक स्टेट्स (आइएस) सँग सम्बन्ध रहेको पनि अनुमान गरिएको छ। तर छानबिनपछि मात्र उनीहरुको इराक या सिरियाका आइएससँग सम्बन्ध रहेको हो भन्ने बारेमा भन्न सकिने प्रहरीले जनाएको छ।
राजधानी जकार्तामा थप गरिएका ती सुरक्षाकर्मीहरुले क्रिसमस केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरुमा निगरानी गर्नेछन्।
जकार्ता प्रहरीका प्रवक्ता मार्टिनस् सितोम्पुलले भने– हामीले सार्वजनिक स्थलमा निगरानी बढाएका छौँ, आजदेखि लिएर नयाँ वर्षको सुरुवातसम्म गरिने यस निगरानीले यहाँ हुनसक्ने असुरक्षाको अवस्थालाई कम गर्नेछ ।
उनले आजदेखि जनवरी २ सम्मका लागि नयाँ सुरक्षा प्याकेजको घोषणा गरिएको र थप सुरक्षाकर्मीमार्फत सो काम गरिने जानकारी दिएका छन्। रासस/एएफपी