काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेसको संरचना थोत्रो भइसकेको र पुनर्संरचनामा नेतृत्वले ध्यान नदिएको बताएका छन्।
पहिलोपोस्टसँगको कुराकानीमा गुरुङले कांग्रेस संघीय संरचनामा नगएर थोत्रै संरचनामा बसेकाले निर्वाचन परिणाम कमजोर भएको दाबी गरे।
गुरुङले भने, 'गाँउपालिका बनिसक्यो। नगरपालिका बनिसक्यो। तर, गाविसकै संरचनामा छ कांग्रेस। यो त पुरानो हो नि।'
उनले सात प्रदेश बनेको अवस्थामा पार्टीको पुरानै संरचनामा चलेकोले कमजोर साबित भएको तर्क गरे।
उनले भने, 'पुरानो २४० क्षेत्र त गइसक्यो। अहिले त १६५ मा आइसक्यो। ३३० प्रदेश भइसक्यो। तर, कांग्रेस निर्वाचनमा पनि यही पुरानै संरचनामा गयो। यसरी पुरानै संरचना अनुसार चलेर त भएन नि।'
कार्यकर्तालाई चलयमान बनाउन पुनर्संचरना जरुरी भइसकेको र यसका लागि पार्टी नेतृत्वले तत्काल ध्यान दिनुपर्ने उनले बताए।