
काठमाडौं : चितवन टाइगर्सका खेलाडी प्रविन गुप्ता टीयूमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन्। भारतीय खेलाडी प्रविनले शुब्रबार विराटनगर वारियर्स विरुद्वको खेलमा अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएका हुन्। उनले उक्त ओभरमा ४ विकेट लिए। यसै खेलमा विराटनगर वारीयर्सले १७४ रन बनाउँदै एकै खेलमा सर्वाधिक रन बनाउने टिम बनेको छ।
अन्तिम ओभरमा ४ विकेट लिएसँगै प्रनिन इपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी समेत बने। आफ्नो ४ ओभर बलिङ स्पेलमा प्रविनले २३ रन खर्चेर ५ विकेट लिएका हुन्।
त्यसअघि १९औँ ओभरमा अर्का भारतीय खेलाडी प्रमेश कुमारले २ विकेट लिएपछि अन्तिम दुई ओभरमा चितवनले विराटनगरको रन रोकेको थियो।
अन्तिम ११ बलमा ६ विकेट गुमाएपनि बाबर हायतले विष्फोटक ब्याटिङ गर्दै ८१ रन बनाएपछि विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको हो।
बाबरले ४२ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे। यस्तै ओपनर अंशुमन रथले ४१, आसिफ शेखले २१ तथा कप्तान पारस खड्काले १६ रन जोडे।