
संयुक्त राष्ट्रसंघ : उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा रहेको संयुक्त राष्ट्रसंघले उसमाथि जारी राखिएको नाकाबन्दीका बारेमा मतदान गर्ने भएको छ।
मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गर्ने बताइएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा रहेको जानकारी गराइएको जनाइएको छ।
एजेण्डामा विशेषगरी प्रशोधित तेलको ९० प्रतिशत निर्यात र आयातमा प्रतिबन्ध लगाउने रहेको छ। त्यसैगरी अन्य आर्थिक विषयमा पनि उसलाई अप्ठेरो पर्नेगरी नाकाबन्दी लगाउनेगरी तयारी गरिएको जनाइएको छ।
यस घटनाले विश्वमा नै हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वब्यापीरुपमा बढाउने चिन्ता व्यक्त गरिएको छ।
केही समयमात्र अघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रम विरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका थिए।
एकातार्फ अमेरिकाले उत्तर कोरियाको यस्तो आणविक महत्वाकांक्षालाई निस्तेज पार्नका लागि चीनले नै प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ भने तर चीनले भने यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन।
चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ। चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ।
यसरी आणविक परीक्षणको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ। उत्तर कोरियाले भने यो आणविक अस्त्रको होड रोक्ने बारेमा कुनै संकेत दिएको छैन।
विश्लेषकले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन्।
तर उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले बारम्बार आणविक होड त्याग्न भनेपनि उसले निरन्तरता दिइरहेको छ। त्यसैले अमेरिकाको प्रस्तावमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएको हो । रासस/एएफपी