फिल्म छायांकन र प्रचारका लागि चितवनमा फिल्मकर्मीको उपस्थिति बाक्लिदो छ। प्रचार प्रसारकै लागि मोफसल यात्रामा रहेको फिल्म 'राज्जा रानी'ले पनि चितवनमा पत्रकार भेटघाट आयोजना गर्यो। जुन कार्यक्रममा चितवनका फिल्म पत्रकारहरुले सास्ती भोग्न परेको क्रिस्टल टिभीका पत्रकार सनद अधिकारीले बताए।
भने,'फिल्म पत्रकारहरुकै अस्तव्यस्तताका कारण फिल्मीकर्मी र स्वयं पत्रकारहरुलाई नै सास्ती हुन्छ।' नारायणगढमा आयोजित सम्मेलनमा पत्रकार कम दर्शक र व्यक्तिगत च्यानल चलाउने युट्युबरहरुको भिडले समस्या सिर्जना गरेको बताए। '
न कलाकारको कुरा सुन्न सहज भयो न खिच्न। व्यवस्थापनको कमजोरीले पत्रकारले केही टिपोट गर्नै धौधौ पर्यो', उनले गुनासो पोखे।
तर चितवन चलचित्र पत्रकार संघलका निवर्तमान अध्यक्ष एवं 'राज्जा रानी' पत्रकार सम्मेलन आयोजक रवि अधिकारी भन्छन्,'फिल्म युनिटको उपस्थितिसहित कार्यक्रम सफल भयो। उचित जानकारी र कलाकारहरुको अनुभव प्रवाह भयो। ठाउँ साघुँरो भएको साँचो हो तर सहभागिता धेरै हुनु त राम्रै हो नि होइन?'
दर्शक र गैर पत्रकारहरुको उपस्थिति बारे प्रश्न सोध्दा उनले भने,'आयोजकका तर्फबाट हामीले पत्रकारलाई बोलाएका हौं। केही दर्शकलाई भने केकी जीले कार्यक्रम बारे जानकारी दिनु भएको रहेछ। त्यसैले उहाँहरु पनि आउनुभयो।'
चितवनपोस्ट दैनिकका लागि फिल्म पत्रकार रहेका गोविन्द अर्यालले भने सम्मेलन आरोप गरिएको जस्तो अस्तव्यस्त नभएको जानकारी दिए। भने,'मैले त सम्मेलनमा गएर मजाले समाचार संकलन गरेर आएँ। मान्छे धेरै भएपछि हल्ला र भिड त सामान्य हैन र?'