काठमाडौं : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अबको तीन साताभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।
शनिबार रिपोर्टर्स क्लबमा ज्ञवालीले तीन साताभित्र नयाँ सरकार गठन हुने बताए। उनले अब बन्ने सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेमा कुनै दुई मत नभएको स्पष्ट पारे ।
उनले भने,‘अब बन्ने सरकारको प्राथमिकता भनेको राष्ट्रियता बलियो बनाउने, सुशासन कायम गर्ने, राजनीतिक स्थिरता, प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र तिव्र आर्थिक विकास हासिल गर्ने नै हो।’
ज्ञवालीले आगामी ५ वर्षभित्रमा नेपाललाई विकाशशील राष्ट्र बनाउने र आगामी दश वर्षभित्र प्रति व्यक्ति आम्दानी ५ हजार अमेरिकी डलर पुर्याउने अबको सरकारको लक्ष्य रहनेसमेत बताए।
राष्ट्रिय सभा गठन नभईकन नयाँ सरकार बन्नै सक्दैन भन्नु गलत र भ्रमको खेती भएको उनको टिप्पणी थियो। उनले अब एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता कसैले चाहेरपनि नरोकिने जिकिर गरे।
उनले भने,‘छिट्टै एकता हुन्छ। एकताको लागि सघन रुपमा गृहकार्य अघि बढ्छ, हामी छलफलमा जुटिसकेका छौं, आजैपनि एकता संयोजन समितिको छलफल छ।’