PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

इपीएल : दीपेन्द्र र प्रविणको अर्धशतकमा चितवनको पहिलो जित, ललितपुर ५ विकेटले पराजित



पहिलोपोस्ट

इपीएल : दीपेन्द्र र प्रविणको अर्धशतकमा चितवनको पहिलो जित, ललितपुर ५ विकेटले पराजित

काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरी र प्रविण गुप्ताको अर्धशतक तथा योगेन्द्र सिंह कार्कीको ४ विकेट मद्दतमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग इपीएल मा पहिलो जित हात पारेको छ।

दीपेन्द्र र प्रविण ब्याटिङमा जमेपछि चितवनले ललितपुरले दिएको १३१ रनको लक्ष्य १९.२ ओभरमा पूरा गर्दै ५ विकेटको जित हात पारेको हो। जितपछि समान ४ खेल खेलेका ललितपुर, काठमाडौं र चितवनको १ जित र ३ हारपछि समान २ अंक छ र सबैको प्लेअफ पुग्ने सम्भावना कायम छ।

चितवनका लागि कप्तान दीपेन्द्रले ५५ रनको योगदान गरे भने प्रविण ५६ रनमा नटआउट रहे। ३३ रन हुँदा ४ विकेट गुमाएको चितवनको लागि दीपेन्द्र र प्रविणले पाँचौ विकेटका लागि ८१ रनको साझेदारी गरे।

दीपेन्द्रले ५० बल खेल्दै ७ चौका समेत प्रहार गरे। यस्तै ४३ बल खेलेका प्रविणले ४ चौका र २ छक्का प्रहार गरे। बलिङमा ललितपुरका सन्नी पटेलले ३ विकेट लिए। यसअघघि टिममा रहेका योगेश नागर व्यक्तिगत कारण घर फर्केपछि सन्नीले आज उनको स्थानमा ललितपुरका लागि खेलेका थिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३० रन बनाएको थियो।

ललितपुरलाई अलआउट गर्न चितवनका योगेन्द्रले ४ विकेट लिए भने प्रविण गुप्ता र प्रमेश कुमारले २-२ विकेट लिए।

ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ३१ रन बनाए भने शंकर रानाले २७ तथा सुबोध भाटीले २३ रन जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell