
काठमाडौं : नेपाली खेलाडी दिपेश धामी र शोभा गौचनको जोडी काठमाडौंमा भइरहेको योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको सेमिफाइनलमा दिपेश र शोभाको जोडीले मलसियाको एभेसगरन भसिगरन र दर्शनी भसिगरनको जोडीलाई २-१ को सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेको हो।
दिपेश र शोभाले पहिलो सेट २१-१७ ले जित्दै १-० को अग्रता लिएको थियो। दोस्रो सेट मलेसियाली जोडीले २१-१६ ले जितेपछि खेल १-१ को रोमाञ्चक अवस्थामा पुग्यो। तर तेस्रो तथा निर्णायक सेट २२-२० ले आफ्नो पक्षमा पार्दै दिपेश र शौभाको जोडीले खेल जितेका हुन्।
नेपालका तामाङ दिदीभाई जोडी भने सेमिफाइनलमा भारतीय जोडीसँग पराजित हुँदै फाइनल पुग्न असफल भएका छन्। दिदी नङसल तामाङ र भाई रत्नजित तामाङको जोडी भारतका भि देभलेकर र हलिका भेलुडुर्थिसँग २१-१६, २१-७ ले पराजित भए।
दिपेश र शोभाको जोडीले अब उपाधिका लागि भारतीय जोडीसँग खेल्नेछ।