स्पानिस ला लिगा अन्तर्गत बहुचर्चित एक क्लासिको मा बार्सिलोनाले रियल मड्रिडलाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ। बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गरे।
रियलको मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा डानी कार्भाजलले सिधै रातो कार्ड पाएपछि रियल दोस्रो हाफमा दश खेलाडीमा झरेको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दवस्रो हाफमा दुई गोल गरेको हो।
५४औँ मिनेटमा सर्जि रोबर्टोको पासमा लुइस सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेटपछि रियललाई दोहोरो झड्का लाग्यो। कार्भाजलले पेनाल्टी एरियामा हातले बल रोकेपछि सिधै रातो कार्डको भागिदार बन्दा बार्सिलोनाले पेनाल्टी पायो।
जसमा लियोनल मेसीले सहजै गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए। उक्त गोलसँगै मेसीको ला लिगामा यस सिजन गोल संख्या १५ पुगेको छ। यस्तै एल क्लासिकोमा सर्वाधिक गोलकर्ताको सूचीमा अगाडी रहेका मेसीको गोल संख्या २५ पुगेको छ। जसमध्ये मेसीले १७ गोल ला लिगामा र १५ गोल वर्नावेउमा गरेका हुन्।
बार्सिलोनाका लागि तेस्रो गोल वैकल्पिक खेलाडी एलेक्स भिदालले इन्जुरी टाइममा गोल गरे। मेसीले डि एरियाबाट उपलब्ध गराएको पासमा भिदालले गोल गरेका हुन्।
जितपछि लिग लिडर बार्सिलोनाले १७ खेलबाट ४५ अंक जोडेको छ। जुन एक खेल कम खेलेको रियलको भन्दा १४ अंकले बढी हो। १६ खेलबाट ३१ अंक जोडेको रियल चौथो स्थानमा छ।
यस्तै बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि पनि ९ अंकको अग्रता बनाएको छ।