
रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विश्वप्रकाश शर्माले कांग्रेसलाई राष्ट्रव्यापी रुपमा बलियो बनाउन सही उपचार जरुरी रहेको बताएका छन्।
कांग्रेस बुटवल नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा शर्माले निर्वाचनमा कांग्रेस हारे पनि विचारको जित भएको दाबी गरे। कांग्रेस घाटमा नपुगेको भन्दै थलामात्र परेको शर्माको भनाई छ।
उनले गम्भीर आत्मसमीक्षा नगरी अघि बढेमा कांग्रेस इतिहासको पुस्तकमा सीमित हुने चेतावनी पार्टी नेतृत्वलाई दिए। शर्माले पार्टीमा कपालको रौँदेखि खुट्टाको बुढी औँलासम्म कमजोरी रहेको बताए। राष्ट्रव्यापी रुपमा कांग्रेस बदल्न आवश्यक रहेको उनको धारणा छ। पार्टीमा आमूल परिवर्तन जरूरी रहेको भन्दै पार्टी विस्तार नभई व्यवस्थापन आवश्यक रहेको तर्क उनको छ।
कांग्रेसको रूखलाई जरामा पानी हाल्नुपर्ने बेला आएको उनको भनाई छ। चुनाबी परिणामबाट नआत्तिन आग्रह गर्दै शर्माले नतिजाबाट अतिरञ्जित नहुन वाम गठबन्धनलाई पनि चेतावनी दिए।