PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनको विरोध, चार वडाअध्यक्षले लेखे 'नोट अफ डिसेन्ट'



पहिलोपोस्ट

रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनको विरोध, चार वडाअध्यक्षले लेखे 'नोट अफ डिसेन्ट'

  • उमा केसी 
रोल्पा :  गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ। रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो।

सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी शहिद सुनिल स्मृति गाउँपालिका नामाकरण गर्ने भन्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले प्रस्ताव पेश गरेपछि सोही गाउँपालिकाका विभिन्न चारवटा वडाका वडा अध्यक्षले निर्णय पुस्तिकामै असहमतिको बुँदा लेखेपछि विवाद चुलिएको हो। 

गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले साविक नाम परिवर्तन गर्दै नयाँ नाम राख्ने प्रस्ताव गरेपछि सुवर्णवती गाउँपालिका–४ का वडाअध्यक्ष गञ्जबहादुर क्षेत्री, वडा नं ३ का वडाअध्यक्ष जेदबहादुर विष्ट, वडा नं २ का वडाअध्यक्ष नेत्रबहादुर गिरी र वडा नं १ का वडाअध्यक्ष केशवलाल कुँवरले निर्णय पुस्तिकामा असहमति लेख्दै विज्ञप्तिसमेत प्रकाशित गरेका छन्। 

ऐतिहासिक र पौराणिक नाम रहेको सुवर्णाती परिवर्तन गरी व्यक्ति विशेषको नाममा सिंगो गाउँपालिकाको नाम राख्ने प्रयास भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यता गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले भने सुवर्णावती गाउँपालिका पौराणिक, साहित्यिक नाम भएकाले जनताले उच्चारण गर्न गाह्रो मान्नुको साथै नामाकरणसमेत अर्थपूर्ण नरहेकाले नाम परिर्वतन गर्नुपरेको बताए। 

गाउँपालिकाभित्रका चर्चित नेता सुनिलको नाम निकै चर्चित रहेकाले जनताले सहजै उच्चारण गर्न सक्ने र परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेलेका शहिदको नाममा गाउँपालिकाको नाम परिर्वतन गर्ने प्रस्ताव आएको बताए। 

अहिले प्रस्तावका रुपमा मात्रै आएको छ पुस १२ गते बृहत् छलफल गरी टुंगो लाग्ने घर्तीले बताए। अध्यक्ष घर्तीले गाउँपालिकाको पहिलो सभामा नाम परिवर्तन गर्ने विषयमा सहमति भइसकेको दावीसमेत गरे। 

ऐतिहासिक तथा पौराणिक नाम परिवर्तन गर्दै गाउँपालिकाका उपाध्यक्ष वागमती थापाको मृतक श्रीमान् किमबहादुर थापा सुनिलको नामबाट गाउँपालिकाको नाम राखेको भन्दै विपक्षीले विरोध गरेको बताइएको छ। 

उता करिब एक साताअघि पश्चिम रोल्पाको सुकिदह गाउँपालिकाले समेत नाम र केन्द्र परिवर्तनको निर्णय गरेपछि विवाद सिर्जना भएको थियो। मंसिर २९ गते बसेको गाउँपालिका बैठकले माओवादी जनयुद्धमा मारिएका गंगा वली र देवराज वलीको नामबाट ‘गंगादेव’ गाउँपालिका राख्ने गरी निर्णय भएको बताइएको छ। 

गाउँपालिकाको नाम परिवर्तनप्रति नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलले असहमति जनाउँदै आएका छन्। एमालेका स्थानीय नेता रोशनकुमार वलीको संयोजकत्वमा संघर्ष समिति समेत तयार गरी दबाबमूलक कामको थालनी गरिएको स्थानीयले जानकारी दिए। 

गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले आफ्नो मृतक श्रीमती गंगा वलीको नामबाट गाउँपालिकाको नाम परिवर्तन गर्नुका साथै आफ्नो घरपायक पर्ने गरी केन्द्रसमेत परिवर्तन गरेको स्थानीयले आरोप लगाएका छन्। गाउँपालिकामा देखिएको विवाद अहिलेसम्म मिल्न सकेको छैन। 

यसैगरी रोल्पाको त्रिवेणी गाउँपालिकामा समेत केन्द्र परिवर्तनको विषयमा विवाद देखिएको छ। स्थानीय तहको पुनःसंरचना सिफारिश गर्न गठित जिल्ला प्राविधिक समितिलेसमेत केन्द्रका बारे सर्वसम्मत निर्णय गर्न नसक्दा विवाद कायमै रहे पनि जुगार सिफारिश गरेको थियो। लामो समयसम्म विवाद रहेको सो स्थानमा पुनः विवाद चुलिएको छ। 

गाउँपालिकाको केन्द्र त्रिवेणी की जुगार भन्ने विषयलाई निकास दिन सर्वसम्मत निर्णयको प्रयासमा लागेका गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell