काठमाडौँ: सरकार गठन, राष्ट्रियसभा अध्यादेश विवाद तथा पार्टी एकीकरणका व्यवस्त कार्यसूचीबाट टाढा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा छन्। गत शुक्रबारको पार्टी एकता संयोजन समिति बैठकमा पनि विशेष कारण भन्दै अनुपस्थित भएका प्रचण्ड पाँचौँ दिन पनि चितवनमै छन्। उनको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो ३ बजे प्रचण्ड काठमाडौँ फर्कँदैछन्।
राजनीतिक विवादलाई असरल्ल छाडेर चितवनमा अलमलिएका प्रचण्डमाथि धेरैले आशंकाका प्रश्न गर्न थालेका छन्। कतिपयले एमालेसँगको एकता सम्वादमा प्रगति नभएको तर्क गरेका छन्। कतिले वाम गठबन्धनबाहिर सरकार गठनका लागि खिचडी पाक्दै गरेको अनुमान लगाएका छन्।
किनकि यसअघि प्रचण्ड स्वयंमले कांग्रेसले पाँच वर्षका लागि प्रधानमन्त्री अफर गरेको सार्वजनिक गरिसकेका छन्। कांग्रेसका तर्फबाट खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले उक्त धारणा पनि सार्वजनिक गरिसकेका छन्।
यसबीचमा राष्ट्रिय राजनीतिभन्दा टाढा रहेका प्रचण्डका केही राजनीतिक अभिव्यक्तिले पनि गठबन्धनभित्रका विवादलाई संकेत गरेको छ। नवलपरासीमा शनिबार प्रचण्डले वाम गठबन्धनको अर्को घटक एमाले संघीय समाजवादी फोरमसँग मिले सरकार बनाउन लागेको टिप्पणी गरेका छन्। सरकारको संरचनाबारे पनि प्रचण्डले चितवन पुगेर नै गत शुक्रबार आलोपालो नेतृत्वका सहमतिबारे मुख खोलेका थिए।
प्रचण्डका पछिल्ला अभिव्यक्ति र गठबन्धनभित्रकका फरक–फरक धारणाले राजनीतिमा नयाँ समीकरण र सम्भावनाको खेल जीवित छ भन्ने अनुमान भने धेरैले लगाइरहेका छन्।
देउवा चितवन जाँदै
राजनीतिक बृतमा विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन जाँदैछन्। हात्ती महोत्वसको उद्घाटनका लागि प्रधानमन्त्री चितवन जान लागेका हुन्। प्रधानमन्त्री बिहान १० बजे हेलिकाप्टरबाट चितवन जाने कार्यक्रम छ। १२ बजे हात्ती महोत्सव प्रधानमन्त्रीबाट उद्घाटन हुनेछ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३ बजे चितवनबाट फर्कने कार्यक्रम छ।
प्रचण्ड चितवनमै रहनु र देउवा चितवनमै हुनुको संयोगलाई राजनीतिक विषयमा थप छलफल हुने अनुमान छ। तर, सुरक्षा स्रोतहरुले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डको भेट निश्चित भइसकेको भने स्पष्ट पार्न सकेनन्। दुई नेताबीच आकस्मिक भेट भने अनुमान गरिएको छ।
प्रचण्ड ३ बजे भने वाम गठबन्धन एकता संयोजन समितिको बैठकमा भाग लिन काठमाडौँ फर्कने कार्यक्रम छ।