PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

इपीएल : चितवनलाई हराउँदै भैरहवा क्वालिफायर्समा छनोटमा, फाइनल प्रवेशका लागि विराटनगरसँग खेल्ने



पहिलोपोस्ट

इपीएल : चितवनलाई हराउँदै भैरहवा क्वालिफायर्समा छनोटमा, फाइनल प्रवेशका लागि विराटनगरसँग खेल्ने

काठमाडौं : भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) को क्वालिफायर्समा प्रवेश गर्ने दोस्रो टिम बनेको छ। मंगलबार भएको खेलमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले पहिलो क्वालिफायर्समा विराटनगर वारियर्ससँगको भेट पक्का गरेको हो।

विराटनगर लिग चरणका सबै पाँच खेल जित्दै शीर्ष स्थानमा रहेर क्वालिफायर्सका लागि छनोट भइसकेको छ। लिग चरणमा विराटनगरसँग मात्र पराजित भएको भैरहवाले ५ खेलबाट ८ अंक जोड्दै लिग चरण टुङ्गाएको हो। लिगमा पहिलो बनेको विराटनगर र दोस्रो भएकव भैरहवाबीच पहिलो क्वालिफायर्स बुधबार हुनेछ। उक्त खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्ने अवसर पाउनेछ।

यता ५ खेलमा १ मात्र जित निकालेको चितवन भने अंकतालिकाको पूछारमा रहेर लिग चरणबाटै बाहिरिएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा चितवनले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो। जुन जारी प्रतियोगितामा अहिलेसम्मकै कम स्कोर हो। जवाफमा ८८ रनको सामान्य लक्ष्य भैरहवाले १८.३ ओभर ६ विकेट गुमाएर पूरा गर्‍यो।

चितवनका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले १५-१५ रन बनाए भने आकाश थापाले ११ रन जोडे। ललितसिंह भण्डारी १३ रनमा नटआउट रहे। खेलको दोस्रो ओभरमै ओपनर सन्दीप सुनार शुन्यमा आउट भएपछि निरन्तर विकेट गुमाएको चितवनले पूरै २० ओभर खेलेपनि धेरै रन बनाउन सकेन। चितवनलाई कम स्कोरमा रोक्न भैरहवाका कप्तान शरद भेषावकरले ३ तथा हरीशंकर शाह तथा भुवन कार्कीले समान २ विकेट लिए।

जवाफमा ८८ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाको पनि सुरुवात राम्रो हुन सकेन। भैरहवाका ओपनरद्वय प्रथम सालुन्के (०) पहिलो ओभरमा आउट भए भने प्रदिप ऐरी दोस्रो ओभरमा १ रन बनाएर आउट भए। यस्तै भुपेन्द्र थापाले १३ जोडेर आउट भए। चौथो विकेटका लागि रोहित पौडेलले र पुनित मेहराले ४८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। भैरहवाको जितमा पुनित मेहराले ३० तथा रोहितले २० रनको योगदान गरे। कप्तान शरद भेषावकर ८ रनमा आउट भए। कृष्ण कार्की ९ रनमा नटआउट रहे। बलिङमा चितवनका कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell