- राकेश कुमार मिश्र
राप्ती नदीको बाढीबाट विस्थापित बाढीपीडित चिसो र शीतलहरबाट पीडित भएका छन् । पुसको चिसो र शीतलहरले शरीर दुख्ने, हातखुट्टा झमझमाउने, टाउको दुख्ने, निमोनिया, रुघाखोकी र ज्वरोको संक्रमणसमेत देखिएको छ। राप्तीसोनारी ७ मण्ढपुवा सामुदायिक वनमा बस्दै आएकी ७३ वर्षीय रामबच्ची चमारले चिसोमा बच्न न्यानो कपडा नभएको बताइन्।
राप्ती नदीबाट विस्थापित भएका मण्ढपुवा सामुदायिक वनमा ७० घरधुरी टहरो बनाएर बसेका छन्। दिनभर जसोतसो बाँच्न सकिएपनि रात परेपछि पीडा सहेर बस्ने गरेको उनीहरुको भनाई छ। विगत चार महिनादेखि टहरामा बस्दै आएका राप्तीनदिबाट विस्थापित उनीहरु चिसोको मारमा छन्।
अहिलेसम्म सरकारी निकायबाट चिसोबाट बच्न न्यानो कपडा वितरण नभएको उनीहरु बताउँछन्। भगवती सामुदायिक वन राप्तीसोनारी ७ मा बस्दै आएका मालतीप्रसाद पासीले वनभित्र बस्दा दिउँसोमा पनि घाम देख्न मुस्किल हुने हुँदा चिसोले सताईरहेको बताए।
राप्तीसोनारीको ४, ५, ६ र ७ वडामा बाढीपीडित टहरोमा बस्दै आएका छन्। यस्तै डुडुवा गाउँपालिकाका वडा १ होलियामा पनि बाढीपीडित सामुदायिक वनको जग्गामा टहरा बनाएर बस्दै आएका छन्।
यसैबीच, बाढीले क्षति गरेको ५ महिनासम्म पनि बाढीपीडित राहत स्थानीय निकायले नबाँडेको भन्दै गाउँपालिका र प्रदेश सांसदले प्रशासनको ध्यानाकर्षण गराएका छन्।
पाँच महिनासम्म पनि गाउँपालिका कार्यालयबाट राहत वितरण नभएको भन्दै क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्य विजयबहादुर यादवको नेतृत्वमा गएका जनप्रतिनिधिले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको ध्यानाकर्षण गराएका हुन्।