
काठमाडौं : शरद भेषावकरलाई घरेलु प्रतियोगितामा सफल कप्तानको रुपमा चिनिन्छ। उनको कप्तानीमा पञ्चकन्या तेजले एनपिएल र इपीएलको पहिलो संसकरणको उपाधि जितेको थियो।
इपीएलको दोस्रो संस्करणमा पनि शरदको कप्तानीमा रहेको भैरहवाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। ६ टिम सम्मिलित प्रतियोगितामा ४ खेलमा जित तथा १ हारको नतिजासहित भैरहवा क्वालिफायर्समा पुगेको छ। लिग चरणमा जित्न नसकेको टिम विराटनगर वारियर्ससँग भैरहवाले बुधबार पहिलो क्वालिफायर्समा खेल्दैछ।
शरदले मंलबार चितवन विरुद्धको अन्तिम लिग खेल जितेपछि क्वालिफायर्स अघि सबैलाई अवसर दिए बताए। उनले चितवन विरुद्ध रोहित पौडेललाई अगाडी ब्याटिङ गर्न पठाए। रोहितले २० जोडे। यस्तै आफू तल झरेर पनि उनले सबै खेलाडीलाई ब्याटिङमा मौका दिए।
क्वालिफायर्सअघि सबैले अवसर पाउन् भनेर ब्याटिङ र बलिङमा अवसर दिएको शरदे प्रतिक्रिया दिए। ‘क्वालिफायर्सअघि सबैलाई रेडी गर्न ब्याटिङ र बलिङमा चान्स दिएको हो।’
यस्तै बलिङमा पनि उनले सबै खेलाडीलाई अवसर दिएका छन्। चाहिएको अवस्थामा हेरेर बलिङ गराउँछन् शरद। अब क्वालिफायर्समा राम्रो क्रिकेट खेल्नु नै मुख्य टार्गेट रहेको शरदको भनाई छ। लिग चरणमा भैरहवा विराटनगरसँग ३५ रनले पराजित भएको थियो। ‘हामी क्वालिफायर्समा पहिलेको भन्दा राम्रो क्रिकेट खेल्ने छौँ। एउटा खेल नराम्रो भयो भन्दै अर्को नराम्रो हुँदैन।’
विराटनगरसँग खेल्नुअघि शरदले दुवै टिम समान स्तरको रहेको बताए। ‘दुवै टिमको स्तर उस्तै छ। ब्यालेन्स्ड साइड हो। उनीहरुको टप अर्डर राम्रो छ, हाम्रो मिडल अर्डर राम्रो छ।’
भैरहवाको ओपनर प्रदिप ऐरीले ५ वटै खेलमा चान्स पाएपनि रन जोड्न सकेनन्। तर विगतमा नेशनल टिमका लागि प्रदिपले राम्रो खेलेकाले टी-२० का लागि प्रदिप राम्रो ब्याट्सम्यान भएको शरदले प्रतिक्रिया दिए। ‘प्रदिपले जहिले खेल्छन्, एक्लै खेल जिताउन सक्छन्।’
यता भैरहवाका लागि लिग चरणमा तीन खेल खेलेका पुनित विष्ट भारत फर्किसकेका छन् र उनको स्थानमा अर्को खेलाडी ल्याउन पहल गरिरहेको शरदले उनले बताए। ‘सम्भवत आज बेलुका सम्म नयाँ खेलाडी आइपुग्छन। उनी पनि रणजी लेभलका खेलाडी हुन्। हामीले विकेटकिपर ब्याट्सम्यान ल्याउन लागेका हौँ।’
भैरहवाको टिममा पुनित विष्टसहित प्रकाश केसी र भुपेन्द्र थापाले विकेटकिपङ गरिसकेका छन्। अब कसरी मिलाउनुहुन्छ भन्ने प्रश्नमा शरदले भने, ‘हामीले विश्वास गरेर नै नयाँ खेलाडी ल्याउन लागेका छौँ। अहिले केही गल्तीहरु पनि भइरहेका छन्। त्यसलाई सुधार गर्ने प्रयास गर्नेछौँ।’