PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

इपीएल : पोखरालाई हराउँदै ललितपुर प्लेअफमा, एलिमिनेटरमा ललितपुर र पोखरा नै भिड्ने



पहिलोपोस्ट

इपीएल : पोखरालाई हराउँदै ललितपुर प्लेअफमा, एलिमिनेटरमा ललितपुर र पोखरा नै भिड्ने

काठमाडौं : पोखरा राइनोजलाई हराउँदै ललितपुर प्याट्रिओटसले एभरेष्ट प्रिमियर लिग (इपीएल)को प्लेअपमा स्थान बनाएको छ।

मंगलबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुरले पोखरालाई ४ विकेटले पराजित गर्दै प्लेअफ पुग्ने चौथो टिम बनेको हो। उद्घाटन खेलमा काठमाडौंलाई पराजित गर्दै सुखद सुरुवात गरेको ललितपुरले त्यसयता लगातार ३ खेल हारेको थियो। तर लिगको अन्तिम खेलमा जयकिसन कोल्सावालाले उत्कृष्ट ब्याटिङ गरेपछि ललितपुरले दोस्रो जित हात पारेको हो। कप्तान ज्ञानेन्द्र मल्ले अन्तिम बलमा छक्का प्रहार गर्दै ललितपुरलाई जित दिलाए। मल्लले १७ बलमा नटबउट २७ रन जोडे।

अब एलिमिनेटरमा बुधबार ललितपुर र पोखराबीच नै खेल हुनेछ। उक्त खेलको विजेता दोस्रो क्वालिफायर्सका लागि छनोट हुनेछ। पराजित टोली भने बाहिरिनेछ। पहिलो क्वालिफायर्समा बुधबारै विराटनगर र भैरहवाबीच खेल हुनेछ। यस खेलको विजेता फाइनल पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर्स खेल्ने मौका पाउनेछ।

लिग चरणमा पोखरा र ललितपुरले खेलेका ५ मध्ये समान २-२ खेलमा जितमा हात पार्दै ४ अंक जोडे।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १३२ रन बनाएको थियो। पोखराका लागि ओपनर सुनिल धमलाले अन्त्यसम्म खेल्दै नटआउट ७० रनको योगदान गरे। ६२ बल खेलेका धमलाले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै राजेश पुलामी मगरले ३२ तथा विनोद भण्डारीले १२ रन जोडे।

दिपेश भण्डारी, रसिद खान, ललित नारायण राजवंशी र सन्दीप लामिछानेले १-१ विकेट लिए।

जयकिसन कोल्सावालाको अर्धशतक प्रेरित ललितपुरले अन्तिम ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। कोल्सावाल र शंकर रानाले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै ललितपुरको जितको आधार खडा गरेका थिए।

कोल्सावालाले ५६ रन बनाए भने शंकरले ३५ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्लले १७ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट २७ रनको योगदान गरे। पोखराका इस्रारउल्लाहले २ तथा कप्तान शक्ति गौचन  र सुशन भारीले १-१ विकेट लिए।

अन्तिम खेलमा जित हात पार्दै प्लेअफमा स्थान बनाएपछि ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले आज फिनिसिङ राम्रो भएको बताए। 'हामीले अझ चाँडै एक दुई ओभर अगाडी नै गेम सकाउनुपर्थ्यो तर त्यसो हुन सकेन।' पाँचौ नम्वरमा ब्याटिङ गरेका कप्तान मल्लले अरु खेलाडीलाई चान्स दिन आफू तल झरेर खेलेको बताए। मल्लले स्कोर टाइ भएको स्थितिमा अन्तिम बलमा छक्का प्रहार गर्दै जिताएका हुन्।

सबै खेल जित्दै अगाडी बढ्नुपर्ने मल्लले बताए। 'अब एलिमिनेटर होस् या अन्य गेम सबै खेल जितेनै टुर्नामेन्टको जित्ने हो त्यसैले हामी सबै पोजिटिभ छौँ।'

मल्ले सुबोध भाटीको स्थानमा पोखरा विरुद्ध खेलेका दिपेश भण्डारीले सुरु र अन्त्यमा राम्रो फिनिसिङ गरेको प्रतिक्रिया दिए। ललितपुरले लिग चरणमा सकिदासम्म दुई विदेशी खेलाडी परिवर्तन भइसकेको छ। योगेश नागर र सुबोध भाटी क्याम्पमा कल आएपछि भारत फर्किसकेका छन्। उनीहरुको स्थानमा सन्नी पटेल र भण्डारी छन्। 'जो खेलाडी आएपनि राम्रो प्रदर्शन गर्नुपर्छ। नाम ठूलो भन्दा पनि काम ठूलो हुनुपर्छ।' मल्ले भने।

भोलीको एलिमिनेटरमा यही नै रिपिट गर्दै अगाडी बढ्ने मल्लले बताए। 'अब हामी सबै पोजिटिभ भएर यही रिजल्ट रिपिट गर्नुपर्छ भन्ने हो।'

लिग चरणमा तेस्रो हारपछि पोखराका कप्तान शक्ति गौचनले ब्याटिङ राम्रै भएपनि सुरुवात देखि बलिङ राम्रो हुन नसक्दा हार्नुपरेको बताए। 'ब्याटिङ साइडले राम्रै गरेको हो तर हामी १० रन जती कम भयौँ जस्तो लाग्यो। हाम्रो बलिङ अट्याक हेरेर १३२ डिफेन्ड गर्न सकिने टोटल हो तर स्ट्राइक बलरले सुरुदेखि नै मेन्टेन गर्न सकेनन्। पहिलो ओभर देखि हामीले राम्रो गरेको भए यो टोटल डिफेन्ड गर्न सकिन्थ्यो।'

सुरुको ३ खेलमा राम्रो मुमेन्टम देखिएपनि हिजो र आजको खेलमा केही नराम्रो भएको शक्तिले स्वीकारे। 'हामीले सुरुको गेम राम्रो खेल्यौँ। तर हिजो नराम्रो भयो। आज पनि राम्रै खेलेका हौँ। ७५ प्रतिशत राम्रो बाँकी नराम्रो भन्न मिल्छ आजको गेमलाई।'

शक्तिले आजको खेललाई भोलीको लागि तयारी गर्ने मौका रहेको बताए। 'दुवै टिमको लागि आ-आफ्नो बलियो र कमजोर पक्ष पहिल्याउने खेल थियो आज। अब भोलीको खेल यस्तो ५ की हार्‍यो कि सकियो त्यसैले धेरै कुरा नसोची आउने खेल्ने र इन्जोए गर्ने हो। रिजल्ट सोचेर भन्दा पनि आप्नो स्ट्रेन्थ अनुसार खेल्ने हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell