PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

थुनामुक्त गरिपाऊँ भन्दै भाइबरबाट ठगी गर्ने शेठिया काकाभतिज पुगे उच्च अदातलको ढोका ढक्ढक्याउन 



अनन्तराज न्यौपाने

थुनामुक्त गरिपाऊँ भन्दै भाइबरबाट ठगी गर्ने शेठिया काकाभतिज पुगे उच्च अदातलको ढोका ढक्ढक्याउन 

विराटनगर : भाइबरबाट चिट्ठा पर्यो भन्दै नेपालका सर्वसाधारणसित ठगी गरेर रकम असुल गर्ने काकाभतिज अनूपचन्द र ललित शेठियाको समूह उच्च अदालतको ढोका ढक्ढकाउन गएको छ।

मोरङ जिल्ला अदालतले गरेको थुनछेकको आदेश बदर गरी पाऊँ भन्दै ठगी मुद्दाका अभियुक्त शेठियाको समूह उच्च अदालत विराटनगर पुगेको हो।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले मङसिर २७ गते शेठिया काकाभतिजासहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो।

जसमध्ये ५ जनाले जिल्ला अदालतको आदेश मुलुकी ऐनको अदालती बन्दोबस्तको १७ नम्बर बमोजिम बदर गरिपाऊँ भन्दै उच्च अदालतमा रिट दायर गरेका हुन्।

रिट दायर गर्नेमा शेठिया काकाभतिजासहित श्रवणकुमार शाह, शनिदेवल विश्वास र पङ्कजकुमार कर्ण छन्। पुर्पक्षका लागि थुनामा रहेका अर्का अभियुक्त बलराम विश्वास भने अदालती बन्दोबस्तको १७ नम्बरअन्तर्गतको निवेदन दिन उच्च अदालत गएनन्।

जिल्ला अदालतले ८ जनामध्ये एक अभियुक्त विमलकुमार चिरानियाँलाई मङ्सिर २७ मै ३ लाख ५० हजार धरौटी लिएर तारेखमा छाडेको थियो।

थुनामुक्त गरीपाऊँ भन्दै निवेदन दिनेमध्ये शेठिया काकाभतिजाका तर्फबाट मधुुसूदन चौधरी, भरत थापा र विकास थापा गरी ३ अधिवक्ताले बहस–पैरवी गरिरहेका छन ।

त्यस्तै पंकजकातर्फबाट भरत थापा, विकास थापा, रमेश कोइराला र रसिकलाल मण्डल तथा श्रवणकुमार शाहका तर्फबाट मधुसूदन चौधरी, भरत थापा, विकास थापा र यामबहादुर मगर गरी ४–४ जना अधिवक्ता क्रियाशील छन्।

शनिदेवल मण्डलकातर्फबाट अधिवक्ताद्वय कृष्णप्रसाद दाहाल र प्रकाश पोखरेलले कानुनी सहायता गरिरहेका छन्।उच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार शुक्रबार शेठियाको समूहको थुनछेकको मुद्दाको पेशी छ । 

भाइबरबाट चिट्ठा परेको भनेर ठगिएकी पर्वत जिल्लाकी एक महिला सङ्गीता गुरुङको जाहेरीलाई आधार मानेर मोरङ प्रहरीले शेठिया काकाभतिजसहित ७ जनालाई गत कात्तिक ३० गते पक्राउ गरेको थियो ।

भाइबरबाट चिट्ठा प¥यो भन्दै शेठिया काकाभतिजले देशभरिका विभित्र स्थानका ३ सयभन्दा बढीलाई ठगी गरेको प्रहरीको दाबी छ ।

‘हामीजस्ता सोझासाझा र गरिबलाई ठगेर तिनले ठूलो अपराध गरेका छन्’, पर्वतबाट सङ्गीताले टेलिफोनमा बिजमाण्डूलाई भनिन्, ‘अदालतबाट उनीहरूले कडाभन्दा कडा सजाय पाउनुपर्छ। हामीसित ठगेर लगेको रकम फिर्ता गरिनुपर्छ। अदालतले उनीहरूलाई छाड्यो भने हाम्रो मन रुन्छ ।’

अदालतबाट ३ लाख ५० हजार धरौटीमा मुक्त भएका चिरानियाँलाई जिल्ला अदालतको आदेशअनुसार सम्पत्ति शुद्धीकरण विभागमा लगेर मुद्दा चलाइएको थियो । विभागले चिरानियाँसित २२ लाख ४० लाख धरौटी लिएर छाडेको छ।

शेठियाको घरमा चलाइएको कार्यालयबाट ११ लाख २० हजार रुपैयाँसहित चिरानियाँ पक्राउ परेका थिए ।त्यस्तै अदालतकै आदेशअनुसार सम्पत्ति शुद्धीकरणमा लगिएका शेठिया काकाभतिजासित विभागले १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

शेठिया काकाभतिजासित विभागले पुस ५ गते १ करोड ५० धरौटी माग गरेको भए पनि उनीहरूले बुझाउन सकेका छैनन्।शेठिया काकाभतिजलाई हाल महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell