PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

चितवनबाट फर्किए प्रचण्ड, ओलीसँगको भेट भने अनिश्चित



पहिलोपोस्ट

चितवनबाट फर्किए प्रचण्ड, ओलीसँगको भेट भने अनिश्चित
फाइल फोटो

  • पासाङ ठकुल्ला  -
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज हुने भनिएको भेट अनिश्चित बनेको छ। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण सँगै सरकार निर्माणको विषय पनि जोडिएकाले दुई नेताबीचको छलफलमा सबैको ध्यान केन्द्रित छ। त्यसैले माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवनबाट फर्केलगत्तै भेट हुने कार्यक्रम तय भएको थियो। 

तर, प्रचण्ड फर्कन ढिला भएकाले आजको भेट अनिश्चित बनेको हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक जोगबहादुर महराले भने, ‘चितवनबाट काठमाडौं फर्किन ढिला भयो। अहिले काठमाडौं पुगेका छौँ। दुई अध्यक्षबीच हुने भनिएको भेट नहुने भयो।’ 

यता नेकपा एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले पनि आजको भेट अनिश्चित रहेको बताए। उनले दुई नेताबीच हुने भनिएको भेटका लागि समय र स्थान तय भइनसकेको जानकारी दिए।

राष्ट्रिय राजनीतिमा पेचिला मुद्दा यथावत रहँदा एकएक चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्ड र भावि प्रधानमन्त्रीका रुपमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संवाद नभएको भन्दै राजनीतिक स्तरमा विभिन्न टीकाटिप्पणी सुरु भएको थियो। पार्टी नेतृत्व र सरकार नेतृत्वका विषयमा दुई दलका नेताबीच छलफल नभएको भन्दै राजनीतिमा विभिन्न खाले अड्कलबाजी सुरु भएको छ।

दुई दल चुनावी अभियानमा एकै घोषणापत्रसहित उत्रिँदा दुई तिहाई नजिकैको परिणाम हासिल गरेका छन्। तर, जितसँगै दुई दलबीच हुने भनिएको एकीकरणको विषय प्रचण्डको चितवन यात्रासँगै छायाँमा छ। यद्यपि, एकीकरणबाट फर्किने पुल भाँचिएको टिप्पणी दाहालले गरिसकेका छन्। राष्ट्रिय सभाको चयनका विषयले नयाँ सरकार गठन रोकिँदा गठबन्धनका शीर्ष नेताकै फरक अभिव्यक्ति आउनुलाई पनि चासोका रुपमा हेरिएको छ। यिनै राजनीतिक परिवेशका कारण दुई नेताबीचको संवाद सबैको चासो बनेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell