काठमाडौं : नेपाली क्रिकेटमा लामो समय योगदान गरेका शिरिस उपाध्यायलाई इपीएल प्रालीले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ। एभरेष्ट प्रिमियर लिग दौरान मंगलबार आयोजकले उपाध्यायलाई सम्मान गरेको हो। इपीएल प्रालीका एमडी आमिर अख्तरले शिरिसलाई नगद २५ हजारसहित अवार्ड प्रदान गरे।
शिरिस उपाध्यायले सम्मान पाएपछि निकै खुशी लागेको बताए। 'खुशी लागिराको छ। कम्तीमा पनि सम्मानको परिपाटी बसेको छ। खेलाडीहरुले पनि यस्तो खालेको सम्मान पाएनुपर्छ।' उनले सन् २००८ मा काठमाडौंमा लेभल टू अम्पायर कोर्स गरेका थिए।
सम्मानपछि सञ्चारकर्मीसँग उपाध्यायले व्यक्त गरेको संक्षिप्त विचार :
म विराटनगरमा जन्मिएको हुँ। मैले २०४५ सालमा जनकरपुर अञ्चतलबाट नेशनल टुर्नमेन्ट खेलेका थिएँ। त्यही वर्ष जनकपुर अञ्चल नेशनल च्याम्पियन समेत बनेको थियो।
त्यसको दुई वर्ष क्रिकेटबाट टाढा रहेँ। पछि विराटनगरको बर्घाँची क्रिकेट क्लबाट खेले। ट्रेनिङ पनि गराउँथे। त्यहीबाट खेलेका महेश रिजाल अहिले राष्ट्रिय टिमका प्रशिक्षक छन्। बुद्धि बहादुर प्रदान आइसीसी प्यानल अम्पायर छन्। आमिर अख्तरले पनि त्यही खेलेका हुन्।
मैले पहिलो अम्पायरिङ सरद मेमोरियल क्रिकेटमा गरेको थिएँ। यो ५२ सालतिरको हो। त्यसपछि ३ वर्ष निरन्तर महाविर कपमा अम्पाएर गरेँ। २००१ मा मैले एसीसी यू-१९ एसिया कपमा मैले अम्पाएरिङ गरेको थिएँ। अहिले पनि निरन्तर अम्पाएरिङ गरिरहेको छु। क्लब लेभलको टुर्नामेन्टहरु, पूर्वाञ्चलको बोर्डतिर हुने टुर्नामेन्टहरुमा अम्पायरिङ गरेको छु। तर ४/५ वर्ष भयो राष्ट्रिय प्रतियोगिता नै नभएका कारण राष्ट्रिय लेभलको अम्पाएरिङ गर्न पाएको छैन। अहिले पूर्वाञ्चलमा बैजनाथपुर क्रिकेट मैदान बनाउन सहाभागि भइरहेको छु। त्यहाँ क्युरेटरको काम पनि गरिरहेको छु।